धनगढी । जलवायु कार्य तथा सामाजिक व्यवहार सम्बन्धी सहसिर्जना कार्यशाला गोष्ठी धनगढीमा शुक्रबार सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको समन्वय, युनिसेफ नेपालको साझेदारी तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) अन्तर्गत जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परियोजनाको आयोजनामा कार्यशाला गरिएको हो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका वडाध्यक्ष, उपमहानगरका महाशाखा तथा शाखा प्रमुखहरु, धनगढीस्थित बाल र युवा क्लबका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
वडास्तरमा यसअघि भएका जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया र छलफलबाट आएका सुझावहरु सरोकारावालासँग आदानप्रदान गर्ने उद्देश्यले कार्यशाला गरिएको जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परियोजनाका संयोजक भरत बिकले जानकारी दिए । कार्यशालाले धनगढी उपमहानगरपालिकाभित्र जलवायु परिवर्तनका चुनौती, अवसर र सुझावहरु समूहमा छलफल गरी कार्ययोजनासमेत निर्माण गरेको छ ।
धनगढी उपमहानगरका विपद सम्पर्क व्यक्ति दिपक भण्डारीले उपमहानगरले गरेको विपद व्यवस्थापनका प्रयास तथा जलवायु परिवर्तनका चुनौतीबारे कार्यशालामा प्रस्तुति राखेका थिए । त्यस्तै जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परियोजना संयोजक बिकले यसअघि वडास्तरमा भएका छलफलबाट आएका सुझावको प्रस्तुतिकरण गरेका थिए ।
युनिसेफ नेपालका अशोक जोशीले जलवायु परिवर्तनका अवसर चुनौतीबारे कार्ययोजना निर्माणमा सहजीकरण गरे भने युनिसेफकै श्रेया सिंहले कार्यक्रमको प्रस्तुतिकरणमा सुझाव, सल्लाह प्रदान गरेकी थिइन् ।
कार्यशालाको शुभारम्भमा धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले जलवायु परिवर्तनका विषयहरुलाई नीति तथा कार्यक्रमहरुमा समेटेर लैजानु पर्ने धारणा राखिन् ।
एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोकबिक्रम जैरुले जलवायु परिवर्तनका कार्यक्रममा युवा र बालबालिकाहरुलाई पनि सहभागिता गराउनुु पर्नेमा जोड दिएका थिए । जलवायु परिवर्तन तथा सामाजिक व्यवहार परियोजना यही विषयको कार्यशाला हालै कैलारी गाउँपालिकामा पनि गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी भएका थिए ।
प्रतिक्रिया