धनगढी । चालिसको दशकतिर बाजुराको बाह्रविसका घरघर पुगेर नाचगान गर्दै घरपरिवारको जोहो गर्थे बैरागी बादी । उनीसँगै बाल्यावस्थाकी छोरी पनि साथैमै हुन्थिन् । देख्नमा सुन्दर, मायालु स्वभाव, सुरिलो बालस्वर अनि राम्रो नाँच । सबैले ती बालिकालाई नै नाच्न र गाउँन लाउँथे । बैरागीलाई अन्न र पैसो दिन्थे । हुने बिरुवाको चिल्लो पात भने जस्तै उनै बालिका अर्थात डिक्रादेवीलाई समयले डेउडा र खासगरी ठाडी भाकाकी ‘क्वीन’ का रुपमा प्रख्याति दियो ।
किशोरावस्थामा उनले गाउँघरमा गाएका ‘आफ्नै देश चाणुली, काँ छै बाज घर आइजा’ लगायतका ठाडी भाकाले धेरैलाई मन्त्रमुग्ध पाथ्र्यो । भारतमा बस्ने पुरुषलाई लक्षित गरी गाएको त्यो ठाडी भाकाले साथीसंगीले हौस्याउने गरेको सम्झना अहिले पनि उनको मानसपटलमा ताजै छ । तर कुनै दिन सुदूरपश्चिको सांगितिक क्षेत्रमा पहिलो महिला गायिकाको परिचय बनुँला भन्ने कल्पना पनि त गरेकी थिइनन् उनले ।
डिक्राको व्यवसायिक सांगितिक यात्रा ०५२ सालदेखि सुरु भएको हो । पहिलोपटक भारतमा गएर पलियाको स्टुडियोमा गीत रेकर्ड गर्दासम्म उनलाई रुचाइने गायिका बनँुला, आयआर्जन होला, सांगीतिक क्षेत्रबाटै पहिचान बन्ला र मानसम्मान प्राप्त होला भन्ने लागेकै थिएन । बरु ‘ठीक गरेँ कि बेठिक’ भन्ने दोमन भइरहेको थियो ।
सुदूरपश्चिममा ख्यातिप्राप्त डेउडा गायक नरेन्द्रराज रेग्मी र गोरख थापाले डिक्रादेवी बादीलाई धनगढीबाट नजिकको भारतीय बजार पलियामा लगेर ‘बसिबियालो’ एल्बममा डिक्रादेवीको स्वर भरेका थिए । त्यस बेला धनगढीमा रेकर्डिङ स्टुडियोको सुविधा थिएन । काठमाडौं पुग्नुभन्दा पलिया जान सहज हुन्थ्यो ।
त्यस बेला अहिले जस्तो भिडियोको जमाना थिएन । टेप रेकर्डरमा बजाइने क्यासेट एल्बमको समय थियो त्यो । लगानीकर्ताले क्यासेट बिक्री गरेर आम्दानी गर्थे । बसिबियालोमा क्यासेट एल्बमममा आफ्नो लगानी नभएकाले त्यसले डिक्रालाई नाम दियो । तर दाम भने दिएन । उनका लागि नामै ठुलो भयो ।
डिक्रा र गोरख थापाले सयुक्त रुपमा स्वरमा गुञ्जिएको बसिबियालोमा सुदूरपश्चिमका बनपाखा र गाउँघरमा रुचाइने डेउडा र ठाडी भाखाका गीतहरु समावेश थिए । बसिबियालोको गीतहरु डिक्रालाई अहिले राम्ररी सम्झना पनि छैन । आज पनि उनी आफ्नो व्यवसायिक गायकीको प्रस्थान बिन्दु नरेन्द्रराज रेग्मी र गोरख थापाले दिएको त्यही अवसरलाई मान्छिन् । ‘पछि नारायण बिष्ट, अन्तराम बिष्टले पनि अवसर दिएको सम्झना पनि कहिल्यै नमेटिने सम्झनाका रुपमा रहिरहेको छ,’ उनले भनिन् ।
डेउडा र ठाडी भाकाको उद्गम क्षेत्र सुदूरपश्चिममा त्यस बेलासम्म सार्वजनिक गायन क्षेमा महिलाहरुको उपस्थिति थिएन । डिक्राको आगमनले सुदूरपश्चिममा महिला गायकको अनुपस्थितिलाई मेट्यो । यता, बसिबियालेले नै डिक्रादेवीलाई व्यवसायिक गायिका बनायो ।
डिक्रासंग भएको मौलिक रैथाने स्वर उनलाई प्राप्त अनुपम उपहार हो । जुन स्वरलाई यस उमेरसम्म बुढ्यौलीले छोएको छैनन् । बरु अझ निख्खार हुँदै गएको उनका श्रोताहरुको अनुभव छ । ५६ वर्षको उमेर टेकेकी डिक्रादेवी डाठी भाका र डेउडामा उस्तै खुलेको स्वरमा गुञ्जिरहेकी हुन्छिन् ।
गायन क्षेत्रमा डिक्रादेवीको उदयपछि सुदूरपश्चिममा कैयन अरु महिलाहरु पनि नउदाएका होइनन् । तर, लामो समय टिक्न भने सकेनन् । ५०–६० को दशकमा बैतडीकी सबिता भट्ट, कैलालीकी बसन्ती भट्टराई, अछामका हरिना साउँद र पबित्रा भण्डारी पनि डेउडा र ठाडी भाकाको गायनमा जमे । तर, धेरैले निरन्तरा दिन सकेनन् ।
‘त्यसबेला महिलाहरुले सार्वजनिक गायन क्षेत्रमा आउन सहज थिएन । त्यसैमा ग्रामीण क्षेत्रबाट,’ सुदूरपश्चिममा सर्वाधिक संख्यामा डेउडा गीत लेखेका रचनाकार राजेन्द्र शाह बीपी भन्छन्, ‘डिक्रादेवीले अनेकौं हण्डरमा ठोक्किनु परे पनि आफ्नो गायकीलाई विराम लाग्न दिइनन् । उनको यो अर्को स्वर्णिम विशेषता बनेको छ ।’ भारतको पलिया गएर बसिबियालो एल्बम रेकर्ड गरेकी डिक्राले त्यसपछि उनका पाइलाहरु काठमाडौंतिर लम्किए । क्रमसः सारंगी, बौजु लगायतका क्यासेट एल्बमहरु बजारमा ल्याइन् ।
आठ वर्षअघि ‘बौजु बौजु’ बोलको गीत ख्याति प्राप्त गायिका झुमा लिम्बुको नजरमा प¥यो । लिम्बू लगायतको समूहले काठमाडौंमा डिक्राको ‘एकल साँझ’ आयोजना ग¥यो । त्यस साँझमा उनले ठाडी भाका, डेउडा र लोकगीत गुञ्जयमान गर्ने ठुलो फोरम पाइन् । सुदूरपश्चिममा सीमित उनले त्यसबाट राष्ट्रब्यापी सञ्चार पाइन् । ठाडी भाका र डेउडा गायकीमा डिक्राको ख्यातिले उचाई चुम्यो । ‘डेउडा गायन र ठाडी भाका मेरो जीवन हो । स्रोताहरुले ठाडी भाकामा आफ्नो जीवन पाउँछन्,’ डिक्राले अनुभूति साटिन्, ‘कैयां ठाउँमा सम्मान प्राप्त गरेकी छु ।’
बादी ९गाइने० समुदायमा जन्मेकी डिक्राको जन्म ०२६ सालमा बाजुरामा भएको हो । आफ्नो खेतीपाती नगर्ने र गाउँ घरमा गएर नाचगान गरेर गुजारा गर्ने बादी समुदायमा जन्मेकी डिक्राले कष्टकर बाल्यावस्थालाई झेल्दै अघि बढ्नु परेको थियो । बाजुराको जुगाडामा जन्मिएर बाह्रविसमा हुर्के बढेकी उनले स्कुल पढ्न पाउने सम्भावनै थिएन । बाबुआमाले गाउँगाउ डुलेर नाचगानमा जाँदा उनलाई साथमै लैजान्थे ।
१४ वर्षकै उमेरमा उमेर बझाङ छान्नाका कित्थ्या बादीले उनलाई भागी विवाह गरे । तर, मधुर स्वरकी धनी डिक्राले त्यसैलाई बरदानका रुपमा सदुपयोग गरिन् । तर विवाह गरिसकेपछि पनि उनमा व्यवसायिक गायिका बन्न सकुँला भन्ने न जानकारी थियो न त सुइना । त्यसैले गाउँघरमा उनले ठाडी भाका र डेउडा गीत गाउँदा धेरैले ‘तेरो त स्वर राम्रो छ रेडियो नेपालमा जाउ’ भन्ने उनलाई गिज्या झै लाग्थ्यो । तर समयले उनलाई सोच्दै नसोचेको अवसर दियो, ख्याति दियो । उनी सुदूरपश्चिममा ‘पहिलो महिला ठाडी भाका र डेउडा गायिका’ का रुपमा कहलिइन् ।
०४९ सालमा डिक्राको परिवार तराई झरे । सुरुमा धनगढीमा बसेको उनको परिवार पछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बंकमा बसाई सरेका थिए । बंकमा तीन कठ्ठा जमिन जोडर त्यही स्थायी रुपमा बसे ।
अहिले त उनको चर्चा डेउडा र ठाडी भाकाप्रेमीहरु माझ संसारभर पुगेको छ । अहिलेको सञ्चार प्रविधिले उनको स्वरलाई सबैमाझ फैलाउन सहज भएको छ । सुदूरपश्चिममा आयोजना हुुने मेला र महोत्सवमा पनि उनले अवसर पाएकै हुन्छिन् ।
दुई छोरा र दुई छोरी रहेकी डिक्रादेवीले उनीहरुलाई पनि गायन र संगीतकै क्षेत्रमा लगाएकी छिन् । आफ्नै युट्युव च्यानल पनि खोलेकी छिन् । तीन महिना अघि तयार गरिएको ‘टाटु अगाल हाली’ बोलको म्यूजिक भिडियो चर्चित भएकोमा उनी दंग छिन् । ‘समय र आर्थिक अवस्थाले साथ दियो भने ठाडी भाका र देउडाको क्षेत्रमा अझै गर्ने जागर छ,’ उनले भनिन् ।
प्रतिक्रिया