ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
अग्रलेख दोस्रो वर्षमा प्रवेश

धनगढीमा बढ्दो राजनीतिक संक्रमणबारे अन्तरसंवाद, कसले के भने ?

बुधबार ०३, मङि्सर २०८२ ०६:५८

धनगढी । कैलालीको धनगढीमा ‘बढ्दो राजनीतिक संक्रमण, निकासको बाटो र सरोकारवालाको भूमिका’ विषय अन्तरसंवाद कार्यक्रम गरिएको छ । अग्रलेख मल्टिमिडिया प्रालिद्वारा सञ्चालित अग्रलेख डटकमको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार अन्तरसंवाद गरिएको हो ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले जेनजीको माग सम्बोधन गर्न आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनै पर्ने बताए । ‘फागुन २१ गते चुनाव गराउनै पर्छ,’ उनले भने, ‘जेनजीको काम सम्बोधन निर्वाचनबाट मात्रै सम्भव छ । हामी सबैले यो चुनाव गराउन भूमिका निर्वाह गर्नुपर्छ ।’

सभामुख भण्डारीले अहिले सबै कुरामा नकारात्मकता बढेको बताउँदै नकारात्मकताले समाधान नहुने बताए । उनले जेनजीले गम्भिरताका साथ सोचेन भने देश ठुलो गृहयुद्ध जाने बताए । ‘देश अर्कैको हातमा छ,’ उनले भने, ‘पहिले हाम्रो हातमा देश ल्याउँ । स्वाभिमान बनौ । त्यसपछि भ्रष्टाचार अन्त्य गर्नुपर्छ र सुशासन ल्याउनुपर्छ । पहिले देशमा एउटा स्कुल समेत खोल्न सकिने अवस्था थिएन । एउटा पुस्तालाई पुरै हटाएर नयाँ पुस्ता ल्याएर मात्रै समाधान हुँदैन । दुबै पुस्ता मिलेर अनुभव र ज्ञान शेयर गर्ने र काम गर्ने वातावरण बनाउनु पर्छ ।’

सभामुख भण्डारीले बजेट किनबेच भएको हो भने कार्यान्वयनमा रोक्नुपर्ने समेत बताए । उनले सबै बजेटलाई एकदै डालोमा राखेर धारणा बनाउन न्योचित नहुने बताउँदै कतिपय सकारात्मक नजिताका लागि गरिएको खर्चहरुलाई सकारात्मक तरिकाले बुझ्नुपर्ने बताए ।

कार्यक्रमा सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले जेनजी प्रतिनिधि, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिले अन्तरक्रियामा उठाएका प्रश्नको जवाफ दिएका थिए । `जहाँ समस्या छ, जुन निकायमा समस्या छ, हामी खुला छ्लफल गर्न तयार छौं,´ उनीहरुले भनेका थिए ।

शिक्षाविज्ञ प्रा.डा. हेमराज पन्तले जेनजी आन्दोलनपछि गठन भएको नेपाल सरकारले निर्वाचनको म्याण्डेट पाएको हुँदा जेनजीका माग सम्बोधन गर्न नसक्ने बताए । उनले निर्वाचनपछि गठन भएको अर्को सरकारले मात्रै जेनजीको माग सम्बोधनतर्फ अग्रसर हुने बताए । ‘अहिलेकै संविधानमा टेकेर प्रदेश नै खारेज गर्न सकिदैन,’ उनले भने, ‘पुनः संरचना गरी अलि छोटो बनाउन सकिन्छ ।’



प्रा.डा. पन्तले अहिलेको राजनीति ठिक नभएको बताउँदै घुसखोरी जताततै मौलाएकोले जेनजी आन्दोलनमा उठेको बताए । उनले घुसखोरी नहुने ठाउँ कतै नभेटिएपछि जेनजीले आन्दोलन गरेको बताए । आन्दोलनले गर्दा अर्थतन्त्रमा ठूलो प्रभाव परेको बताउँदै उनले लगानी नभएर बैंकमा तरलता बढी भएको बताए । उनले देश अविकसित भएकाले पुँजि परिचालन समेत हुन नसक्ने अवस्था आएको बताए ।

आन्दोलनपछि जेनजीको माग, भ्रष्टाचार, सुशासन र सुधारको विषयमा व्यापक छलफलको गुन्जायज रहेको प्रा.डा. पन्तले बताए । उनले नेपालले फाल्नुपर्ने सबै प्रकारको शासकीय स्वरुप फालिसकेको बताउँदै देशको गणतन्त्रको विकल्प नरहेको बताए । ‘राणा शासन फाल्यो, पञ्चायत फाल्यो, राजतन्त्र पनि फाल्यौ,’ उनले भने, ‘अब फाल्नुपर्ने कुनै चिज बाँकी रहेन । अब आउने दिनमा यही व्यवस्थामा रहेर मुलुकमा के आयो भन्ने हो । विगतमा हामी खाद्यान्न बलियो थियौ । विश्वमा भोकमरी हुदा नेपालमा अभाव थियो तर भोकमरी भएन । अहिले किन प्रगति हुन सकिरहेको छैन ? कतै समस्या छ । यो समस्या पहिचान गरी समाधानतर्फ हामी सबैले लाग्नु पर्छ । त्यसका लागि व्यापक छलफलको गुन्जायज छ ।’

उनले रोजगारीका लागि भारत नै जानुपर्ने बाध्यता रहेको बताउँदै पुस्तौंदेखि भारत जानुपर्ने कुरा रोक्न किन सकिएन भन्ने विषयमा समेत छलफल आवश्यक रहेको बताए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर ओझाले बैंकको व्याज १६ प्रतिशत हुँदा आफूहरुले व्याज बढिमा ९ प्रतिशत हुनुपर्ने माग सहित आन्दोलन गरेको बताए । ‘अहिले साढे ६ प्रतिशत व्याज हुदा पनि व्यवसायीले ऋण स्विकार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘लगानी गर्ने वातावरण बनाउनका लागि सबै सरोकारवालाहरुले भूमिका निर्वाह गर्नुपर्छ । सानो व्यवसायलाई नया तरिकाले गर्न सकिएमा युवा आकर्षित हुन सक्छन् । विदेशीले नेपालमा थेला व्यवसाय गरेर आफुलाई सर्भाइभ गर्न सकेका छन् । हामीले आफ्नै ठाउँमा केही उद्यम–व्यवसाय गर्न सक्यौं भने रोजगारीका लागि विदेशिनु पर्ने अवस्था आउँदैन ।’

जेनजी अगुवा सरिता जोशीले आफूहरुले परिचालित नभई चेतना आएपछि आन्दोलन गरेको बताइन् । उनले पुराना नेताहरुले देशलाई उभो लगाउँदैनन् भन्ने चेतनाका कारण जेनजी पुस्ता आन्दोलन गर्न सडकमा आएको बताइने । ‘कृषि अनुदान जमिन मालिकले लग्छन्,’ उनले भनिन्, ‘वास्तविक किसानले अनुदानको उपयोग गर्न पनएको छैनन् । सरकारले बनाएको स्टोर चलाउन पनि हामीले झक्झक्याउनु पर्ने ? अनुदानको सदुपयोग भएन भनेर पनि हामीले भन्नुपर्ने ? यस्तो धेरै कुरा छन् । यि सबै भ्रष्टाचार बेथिति बदल्नका लागी हामीले आन्दोलन गरेको हो ।’

कार्यक्रम उठेका विषयमाथि प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमले समिक्षा गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य रमेश धामी, चक्र मल्ल र सन्तोष थापाले पनि धारणा राखेका थिए । 

प्रतिक्रिया