विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । विराटनगरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जनकपुर बोल्ट्सविरुद्ध ९ रनको जित निकाल्यो ।
जितसँगै विराटनगरले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित जनकपुर अंकविहीन छ । विराटनगरले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १ सय २६ रन मात्र बनाउ सक्यो ।
जनकपुरका लागि जान लोफ्टी एटोनले ४१, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमुर्तीले २० र आसिफ शेखले १३ रन बनाए ।विराटनगरका लागि कप्तान सन्दीप लामिछानले चार, सूर्य तामाङले दुई तथा मर्चेन्ट डी लाङ्ग र शुभम रन्जानेले एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि शुभम रन्जानेले ३७, बसिर अहमदले ३६, लोकेश बमले २८, मार्टिन गप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । जनकपुरका लागि रुपेश सिंह र संगीत कुरेले दुई- दुई र आदित्य महताले एक विकेट लिए ।
प्रतिक्रिया