कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । सुदूरपश्चिमले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ४५ रनको सहज जित निकाल्यो ।
जितसँगै सुदूरपश्चिमले तीन खेलमा ६ अंक जोडेको छ । पराजित कर्णालीको समान खेलबाट दुई अंक छ । यसअघि, सुदूरपश्चिमले काठमाण्डू गोर्खाजलाई २९ र पोखरा एभेन्जर्सलाई १८ पराजित गरेको थियो । यस्तै चितवन राइनोजसँग ४ विकेटको हार व्यहोरेको कर्णालीले लुम्बिनी लायन्यसलाई ९ विकेटले हराएको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा ९४ रनमै समेटियो । कर्णालीका लागि पवन सर्राफले २७, मार्क वाटले १७, कप्तान सोमपाल कामीले १४ तथा गुल्शनकुमार झा र अजुर्न घर्तीले १३ १३ रन बनाए ।
सुदूरपश्चिमका लागि दीपेन्द्रले चार, हरमित सिंह र अविनाश बोहोराले दुई-दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक-एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३९, आरिफ शेखले २७, हरमित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइनले १० रन बनाए ।
कर्णालीका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा मार्क वाट, विपिनप्रसाद शर्मा र युवाराज खत्रीले एक-एक विकेट लिए ।
प्रतिक्रिया