ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा बचत र ऋण बढ्यो

शुक्रबार १२, मङि्सर २०८२ १०:४७

धनगढी । सुदूरपश्चिममा आर्थिक वर्ष २०८१/८२ मा निक्षेपको अनुपातमा ऋण लगानी बढेको छ । प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार निक्षेप १६.३० प्रतिशतले बढेको छ भने ऋण लगानी २.९८ प्रतिशतले मात्रै बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सो अध्ययनले ०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कुल निक्षेप बढेर एक खर्ब ७३ अर्ब ८३ करोड ९ हजार पुगेको छ । २०८१ असार मसान्तमा ११.३२ प्रतिशतले निक्षेप वृद्धि भई एक खर्ब ४९ अर्ब ४६ करोड ४३ लाख पुगेको थियो । २०८० असार मसान्तमा निक्षेप १६.०९ प्रतिशतले वृद्धि भई एक खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको थियो ।

यसैगरी, २०८२ असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०८१ असारमसान्तको तुलनामा वृद्धि भई एक खर्ब ५७ अर्ब ४० करोड ४ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७५ प्रतिशतले वृद्धि भई एक खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख पुगेको छ । २०८० असार मसान्तमा यस्तो कर्जा १.५० प्रतिशतले वृद्धि भई एक खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको थियो ।

समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४८.१३ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.५५ प्रतिशत छ । ‘समीक्षा वर्षसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७५ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.९६ प्रतिशत प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०८२ असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०८१ असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले बढ्न गई ४१ लाख ६ हजार ७ सय ७९ पुगेको छ भने कुल ऋणीको संख्या गत आर्थिक वर्षको तुलनामा १.५० प्रतिशतले बढ्न गई १ लाख ५ हजार ६ सय १० पुगेको देखिन्छ ।’

साधारण कर्जा बढेको भएपनि विपन्न वर्गलाई दिइने सहुलियतपूर्ण कर्जा भने घट्दो अवस्थामा छ । २०८२ असार मसान्तसम्म विपन्न वर्ग कर्जा २०८१ असार मसान्तको तुलनामा ३०.१९ प्रतिशतले घट्न गई ८ अर्ब ६१ करोड पुगेको छ । ‘गत वर्ष सोही अवधिमा यस्तो कर्जा १.३९ प्रतिशतले घट्न गएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०८२ असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तको तुलनामा ४४.४१ प्रतिशतले घट्न गई ३ अर्ब ७८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा २९.६२ प्रतिशतले घटेको थियो ।’

२०८१÷८२ असार मसान्त अवधिमा पुनर्कर्जा ४ करोड १३ लाख प्रवाह भएको छ भने २०८०/८१ मा पुनर्कर्जा ५ करोड ६० लाख प्रवाह भएको थियो । २०७९/८० मा पुनर्कर्जा प्रबाह भएको थिएन । व्याजदर घटाउन गर्न र किस्ताको अवधि बढाउन पुनर्कर्जा प्रबाह गरिन्छ ।

प्रतिक्रिया