धनगढी । कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको नयाँ कोणबाट अनुसन्धान अघि बढाइने भएको छ । पन्तको ५ वर्षअघि बलात्कार गरी हत्या भएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले घटनाको नयाँ कोणबाट अनुसन्धान गर्नका लागि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूसँग छलफल सुरु गरेको हो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट अनुसन्धान गर्न लागेको सीआईबी स्रोतले बतायो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ ।
निर्मलाको हत्या भएको छ वर्षमा अनुसन्धानका लागि छ वटा समिति बनेका छन् । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । यो बीचमा एक सय २४ जनाको डीएनए जाँच, छ सय ५५ जनासँग सोधपुछ गरिए पनि नतिजा आउन नसकेको हो ।
के हो निर्मला प्रकरण ?
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त १० साउन २०७५ मा साथीको घरबाट बेपत्ता भइन् । भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्यो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे । डीएनए ‘म्याच’ नभएपछि विष्ट छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो ।
अपराध अनुसन्धानमा गम्भीर लापर्वाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाइसकेका छन् । सीआईबीले दुई/दुई महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।
प्रतिक्रिया