टीकापुर । कैलाली र बर्दिया जोड्ने कर्णाली नदीस्थित सनकट्टीघाटमा पुल निर्माणको कामले तीव्रता पाएको छ । हालसम्म पुल निर्माणको ६६ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनी रसुवा कन्ट्रक्सनका साइड इञ्चार्ज कृष्ण ढुंगेलले वर्षायाम अगावै पुल निर्माणको काम सक्ने गरी काम भइरहेको बताए । ‘हाम्रो लक्ष्य वर्षायामअघि नै सक्ने भन्ने छ,’ उनले भने ।
नेपाल सरकारको एक अर्ब १८ करोड रुपैयाँको लागतमा पुल निर्माण भइहेको छ । २०७९ पुस १७ गते ठेक्का सम्झौता भएको पुल निर्माणको काम भने २०८१ वैैशाख २ गतेबाट सुरु भएको थियो । सम्झौताअनुसार सुरुको एकवर्ष भित्र सर्भे गरी पुल निर्माणको काम चार वर्ष भित्र सक्नुपर्नेछ ।
७५० मिटर लम्बाई रहेको पुलमा १४ वटा पिल्लर रहेका छन् । ती सबै पिल्लर निर्माण भइसकेका छन् । पुलको १३ वटामध्ये पूर्वतर्फको ४ वटा स्पान समेत निर्माण सम्पन्न भइसकेको साइड इञ्चार्ज ढुंगेलले जानकारी दिए । उनका अनुसार २ वटा स्पान निर्माणको काम भैरहेको छ । पुलको चौडाई साढे ७ मिटर रहेको छ । दुबैतर्फ यात्रुका लागि फुटपाथ रहने बताइएको छ ।
सरकारले समयमा भुक्तानी नदिएका कारण केही समय पुल निर्माणको काम प्रभावित बनेको थियो । सरकारले झण्डै १३ करोड रुपैयाँ भुक्तानी रोकेको थियो । तर, अहिले भुक्तानीको समस्या नरहेको साइड इञ्चार्ज ढुंगेलले बताए । ‘अहिले विगतको जस्तो भुक्तानीको समस्या छैन,’ उनले भने, ‘केही अरु समस्या छन । तिनको समाधान गर्दै अघि बढिरहेका छौं ।’
कैलालीको पूर्वी क्षेत्र टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जानका लागि सनकट्टीघाटमा पुल नहुँदा स्थानीयहरु जोखिमपूर्ण डुंगामा वारपार गर्ने गरेका छन् । डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । केही वर्षअघि सनकट्टीघाटमा डुंगा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।
टीकापुरका कतिपय व्यक्तिका खेतबारी बर्दियाको गेरुवा गाउँपालिकामा छन् । कतिपय व्यापारीहरु टीकापुरबाट बर्दिया र बर्दियाबाट टीकापुरसम्म व्यवसाय गर्दै आइरहेका छन् । स्थानीयका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहजता हुनेछ । जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ ।
बर्दियाको पश्चिमी क्षेत्रका लागि मुख्य बजारको रुपमा रहेको टीकापुर क्षेत्रमा दैनिक आउजाउ गर्न, व्यापार व्यवसाय गर्न र चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुलको विकल्पको रुपमा सनकट्टीमा निर्माण हुने पुललाई लिइएको छ ।
यो पुल निर्माण भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन् । २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीकै सत्तीघाटमा पुल सञ्चालनमा छन । सत्तीघाटमा बनेको पुल समेत रसुवा निर्माण कम्पनीले नै निर्धारित समय भन्दा १० महिना अगावै सम्पन्न गरेको थियो ।
प्रतिक्रिया