धनगढी । १५औँ महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले देश दौडाहा सुरु गरेका छन् । १८ मंसिरमा विराटनगरमा कोशी प्रदेशभित्रका नगर सभापतिहरूको भेला राखेका कोइराला पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको यात्रामा आउन लागेका हुन् ।
जिल्ला दौडाहामा निस्किएका कोइराला महाधिवेशनकेन्द्रित हुन थालेका छन् । कोइरालाले सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
कोइराला ६ पुसमा नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ । त्यसको एकदिन अघि कोइरालाले जिल्लागत भेटघाट राखेका छन् । कोइरालाले शुक्रबार प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्नेछन् । प्रदेशका प्रत्येक जिल्लाका नेता कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गरेपछि अभियानलाई जिल्ला तहमै सुरु गर्न कोइरालाले आह्वान गर्ने सचिवालयले जनाएको छ ।
शनिबार बिहान कोइरालाले भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम पनि छ । शनिबार स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्रिया गर्ने तयारी कोइरालाको छ । शनिबार साँझ नै कोइराला काठमाडौं फर्कने कार्यतालिका छ ।
प्रतिक्रिया