धनगढी । चार वर्षअघि शिलान्यास गरेर पुर्ननिर्माण थालिएको कञ्चनपुरको मझगाउँ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नका लागि बल्ल सूचना निकालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मझगाउँ विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी कान्छाराम केएस उमा एन्ड कम्पनीबीच तीन वर्षमै निर्माण सक्नुपर्ने शर्तसहित ९ पुस ०७८ मा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा सक्नुपर्ने काम पाँच वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन। भई १० माघ ०८१ मा सम्पन्न गरिसक्नुपर्ने भए पनि पहिलो म्याद सकिएपछि अहिले एक वर्ष म्याद थप गरेर ठेक्का अवधि १० माघ ०८२ सम्म पुगाइएको छ । ठेक्का सकिन डेढ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सूचना प्रकाशन गरेको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर १६ मा अवस्थित मझगाउँ विमानस्थललाई विस्तार तथा स्तरोन्नति गरी नयाँ पूर्वाधारहरूको विकाससहित पुनः सञ्चालनमा ल्याउने योजना प्रस्ताव गरिएको छ,’ सूचनामा भनिएको छ, ‘सो प्रस्ताव कार्यान्वयनको क्रममा वातावरण संरक्षण ऐन, २०७६ को दफा ५ को उपदफा (१) तथा वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४ को उपनियम (१) बमोजिम वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्नुपूर्व क्षेत्र निर्धारण गर्नुपर्ने भएको छ ।’ सूचनामार्फत वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक तथा आर्थिक प्रणालीहरूमा पार्ने प्रभाव यकिन गर्न लिखित राय सुझाव पनि माग गरिएको छ । इआइएका लागि प्याक्ट कन्सल्ट्यान्ट प्रालिलाई परामर्शदाता छनोट गरिएको छ । प्याक्ट कन्सल्ट्यान्टका कार्यकारी अधिकृत अविशेक बिसीले क्षेत्र निर्धारणको काम सकिएपछि इआइए प्रतिवेदनको काम अगाडि बढ्ने बताए ।
मझगाउँ विमानस्थल विस्तार तथा स्तरोन्नति योजनाअनुसार विमानस्थलको धावन मार्ग एक हजार ५२५ मिटरको हुने छ । उत्तरदक्षिण दुवैतर्फ एप्रोच÷टेकअफका साथै टर्मिनल भवन, कर्मचारी भवन, सुरक्षा भवन, फ्युल स्टेसन पनि निर्माण भइरहेको छ । ५० हेक्टर क्षेत्रफलमा विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने योजना सरकारको छ । सो योजनाअनुसार निर्माण कम्पनीसंग ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
दोधाराचाँदनी नगरपालिकाले ६२ लाख ६० हजार, भीमदत्त नगरपालिको तीन करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारले ८ करोड ७५ लाख रुपैयाँ नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरेपछि ठेक्का भएको थियो ।
निर्माण कम्पनी कान्छाराम केएस उमा एन्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवले अहिले धावनमार्ग र ढल निर्माणको कार्य जारी रहेको बताए । उनका अनुसार अहिलेसम्म धावनमार्गमा पहिलो लेयरको कालोपत्रेको काम भइसकेको छ । सुरुवातदेखि नै जग्गा प्राप्ति नहुँदा विमानस्थल निर्माणमा समस्या भएको उनले बताए । ‘पहिले धावनमार्ग एक किलोमिटरको मात्रै थियो,’ उनले भने, ‘रत्न बाटिकासँग तीन सय मिटर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै सुरक्षार्थ खटिएको सेनासँग अढाई सय मिटर जग्गा दिएपछि काम अगाडि बढाएका छौं ।’
प्रतिक्रिया