धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुरेशबहादुर बोहरालाई ‘पुलिस अफ द मन्थ’ प्रशंसा प्रदान गरिएको छ ।
श्रीमतीको हत्या भएको घटनामा अनुसन्धान तथा घटनास्थल सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका बोहरालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।
प्रहरीका अनुसार फागुन २४ गते राति धनगढी उपमहानगरपालिका–७ देवरीयाका डम्मरराज जोशीले आफ्नी ३० वर्षीया श्रीमती सरस्वती अवस्थी जोशीमाथि हतियार प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेका कारण सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे राति छिमेकीले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक बोहराको कमाण्डमा ११ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
उक्त टोलीले घटनास्थल सुरक्षित राख्ने, प्रारम्भिक अनुसन्धान गर्ने तथा प्रमाण संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ ।
घटनामा देखाएको सक्रियता र उत्कृष्ट कार्यको कदर गर्दै प्रहरी नायव निरीक्षक बोहरालाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ का रूपमा कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्रबहादुर चन्दद्वारा प्रशंसा पत्र प्रदान गरिएको हो ।
प्रतिक्रिया