धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने कर्मचारी पक्राउ परेपछि विरोध भएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्य ओमविक्रम भाटले मुख्यमन्त्रीमाथि प्रश्न उठ्दा कर्मचारी पक्रनु निरंकुश कदम भएको भन्दै आपत्ति जनाएका छन् ।
‘सुदूरपश्चिम प्रदेश सरकारका दुई जना वनमन्त्रीहरुमाथि प्रश्न उठ्दा मुख्यमन्त्री कमल शाहले राजीनामा गराएर आफू पानी माथिको ओभानो बने,’ भाटले भनेका छन्, ‘अहिले उनै मुख्यमन्त्रीमाथि गम्भीर प्रश्न उठेपछि प्रश्न उठाउने कर्मचारीलाई पक्राउ गर्न लगाए छन् । नैतिकताको आधारमा र विगतको नजिरलाई हेरेर राजीनामा दिनुको साटो कर्मचारीको मुख बन्द गराउन बल प्रयोग गर्ने कार्य लोकतन्त्र र विधिको शासनविरुद्धको निरंकुश कदम हो । तत्काल प्रदेश सरकारले आफ्नो गलत कदम सच्याएर मार्ग प्रशस्त गरोस् ।’
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा कार्यरत वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । भट्टलाई मन्त्रालय परिसरभित्रैबाट पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिमका मुख्यमन्त्री शाहका स्वकीय प्रयाज्ञ खनालले विद्युतिय अपराधमा जाहेरी दिएपछि भट्टलाई पक्राउ गरिएको हो ।
भट्टले केही दिनअघि मुख्यमन्त्रीले पाँच लाख घुस मागेको र घुस नदिएपछि आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।
प्रतिक्रिया