धनगढी । धनगढीबाट सञ्चालित 'नयाँ सन्देश' अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुर्व्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुर्व्यवहार भएको थियो । ‘मैले महोत्सवबारे क्यामेरामा बोलिरहँदा पछाडिबाट आएर एकजना अपरिचित युवकले जोडले धक्का दिएर दुर्व्यवहार गरेका हुन्,’ चन्दले भनिन्, ‘त्यसबेला मलाई दुखाइ पनि भएको थियो । तर त्यो भिडभाडमा अप्ठेरो लागरे चुप लागेँ । अन्य महिलाले यस्तो अन्याय सहनु नपरोस् भनेर कारबाहीको माग गरेकी हुँ ।' आफूमाथि भएको दुर्व्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए । ‘सोमबार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ एसपी चन्दले भने ।
महोत्सवको प्रत्यक्ष प्रसारण गरिरहेका बेला शनिबार पछाडिबाट चन्दलाई नियतवश धक्का दिएको भिडियोमा देख्न सकिन्छ । घटनाप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै संलग्नलाई कारबाहीको माग गरेको थियो ।
प्रतिक्रिया