धनगढी । नेपाल विद्युत प्रधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले बढी विद्युत खपत गर्नुका साथै नियमित महसुल बुझाउने १० ग्राहकलाई सम्मान गरेको छ ।
प्रादेशिक कार्यालयले शनिबार कैलालीको अत्तरियामा सम्मान कार्यक्रम आयोजना गरी सो सम्मान वितरण गरेको हो । कैलालीका लक्ष्मी कत्था उद्योग प्रालि, आरपी एग्रो ईन्डस्ट्रिज प्रालि, रौराबाबा ग्रामीण विद्युत सहकारी संस्था, गोदावरी फ्लोर मिल, भागेश्वर फ्लोर मिल, सेती प्रादेशिक अस्पताल, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, मल्टी पोलिमर प्रालि, धनगढी उपमहानगरपालिका र नेपाल टेलिकमलाई सम्मान गरिएको हो ।
सबैभन्दा बढी विद्युत खपत गरेर सबैभन्दा बढी महसुल तिरेको आधारमा सम्मानित गरिएको विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक मनोजकुमार यादवले बताए । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आगामी वर्षदेखि जिल्ला तहमा पनि उत्कृष्ट ग्राहकहरूलाई सम्मान गर्ने बताए ।
उनले गर्मी मौसममा धनगढी उपमहानरपालिका क्षेत्रमा भोल्टेजको समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न तत्काल लाइनमा सुधार गर्ने, नयाँ लाइन विस्तार गर्ने र ट्रान्सफर्मर थप्ने बताए । उनले आउने गर्मीमा धनगढीमा भोल्टेजको समस्या आउन नदिने दावी गरे । धनगढीमा १३२ केभीको सवस्टेशन निर्माण गर्न सर्भे भइसकेको बताउँदै उनले सो सवस्टेशन निर्माणलाई अब अगाडि बढाइने उनले बताए ।
प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा वार्षिक तीन लाख ७६ हजार ९४५ मेगावाट विद्युत खपत हुँदै आएको छ भने तीन अर्ब २४ करोृड ३२ लाख ३८ हजार रुपैयाँ महसुल संकलन हुने गरेको छ । प्रदेशमा विद्युत प्राधिकरणका तीन लाख ७२ हजार ५१२ ग्राहक छन् । प्रदेशमा ८६.४३ प्रतिशत विद्युतीकरण भइसकेको छ ।
प्रतिक्रिया