धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीको चुनावीसभालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिथोल्ने प्रयास गरेको आरोप लगाएको छ । ७ फागुनमा रामारोशन गाउँपालिका वडा नम्बर ५ चौकामा आयोजित आफ्नो पार्टीको चुनावीसभामा रास्वपाका कार्यकर्ता प्रवेश गरेर उछृङ्खल गतिविधि गरेको नेकपाले आरोप लगाएको हो ।
‘चुनावीसभा भइइरहेको बेला दक्षिणतर्फबाट सहभागीहरूको बीचमा एउटा बलेरो गाडी हुइकिँदै आयो । गाडीका झ्याल खोलिएका थिए, र ठूलो स्वरमा माइक बजाइएको थियो । साथै, एक जनाले गाडीबाट बाहिर टाउको र हात निकाल्दै घण्टी बजाएर आमसभा बिथोल्ने दुश्चेष्टा गर्यो’, अछाम– १ मा नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक शेरबहादुर कुँवरले भने ।
उनका अनुसार त्यो देख्नासाथ नेकपालेका सभामा सहभागी नेताबाट नजिकै रहेका प्रहरीलाई उक्त गाडीमा रहेका रास्वपाका मनिसहरूको हर्कत बन्द गराउनका साथै आमसभामा सहभागी जनतामा त्रास र उत्तेजना फैलाउने काम बन्द गराउन आग्रह गरिएको थियो ।
आफूले जिल्ला प्रशासन कार्यालयलाई पहिल्यै लिखित जानकारी गराएरै सभा गरेकोले सभामा अन्य पार्टीका कार्यकर्ता प्रवेश गरे कानुन र निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्नु गलत भएको जनाएको छ । साथै, रास्वपाका यस्ता गतिविधिले भविष्यमा दुर्घटना निम्तिसक्ने चेतावनीसहित नेकपाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
रास्वपाले भने आफूमाथि लागेको आरोप गलत भएको दाबी गरेको छ ।
प्रतिक्रिया