ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गड्डाचौकीबाट सशस्त्र प्रहरीले सुरु गर्‍यो ‘पूर्व–पश्चिम झण्डा मार्च’

आइतबार २०, पुष २०८२ १२:०९

धनगढी । सशस्त्र प्रहरी बल नेपालले पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ । २५औं सशस्त्र प्रहरी दिवस अर्थात् रजत जयन्तीको अवसरमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट झण्डा मार्चको सुरुवात गरिएको हो ।

गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १८ दिनपछि नवलपुर पुग्ने बताइएको छ । नेपालको पूर्वी नाकाबाट पनि आजैदेखि झण्डा मार्च सुरु भएको र उक्त टोली पनि १८ दिनमा नवलपुरमा पुग्ने सशस्त्र प्रहरीले जनाएको छ । पूर्वी नाका र पश्चिमी नाकाको मार्च टोली नवलपुरमा भेटिएपछि विशेष समारोहका साथ सशस्त्र प्रहरीले रजत जयन्ती मनाउने कार्यक्रम रहेको बताइएको छ । 

गड्डाचौकीबाट झण्डा मार्च सुरु गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले माघ महिनामा रजत महोत्सव मनाउने कार्यक्रम रहेको बताए । सशस्त्र प्रहरी बल स्थापना भएको २५ वर्ष पुगेको बताउँदै उनले ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने तथा राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम आयोजना गरिएको बताए । 

झण्डा मार्चको शुभारम्भ कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक जोशी लगायतको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया