ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा खडेरीले हिउँदे बाली सुक्न थाल्यो

शनिबार ०३, माघ २०८२ ०४:०१

बैतडी । लामो समयको खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको छ । बैतडीमा हिउँदे वर्षा नभएको कारण बाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

पानी नपर्दा गहुँ, जौ, मसुरो, तोरी, केराउलगायत बाली सुक्न थालेका छन् । खडेरीले हिउँदेबाली सुकेका सिगास गाउँपालिका–९ का किसान जनक बोहराले बताए । “असोजयता पानी परेको छैन । लामो खडेरीका कारण हिउँदेबाली सुकेको छ”, उनले भने ।

सिँचाइ सुविधा नहुँदा धेरैजसोले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधायुक्त स्थानमा पनि बाली मर्न थालेको छ । खोलामा पनि पानी सुकेकाले कुलो हिउँदे बालीमा हानि भएको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताए ।

हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नपाउँदै सुक्न थालेको सुर्नया गाउँपालिका–६ का किसान पदम भट्टले बताए । बाली लगाउने बेलामा पनि पानी नपर्दा बीउ उम्रिन नपाएको उनले बताए ।

बैतडीमा २५ हजार ७०० हेक्टरमा खेती हुने गरेको छ । जिल्लाको १० हजार ९०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ । जिल्लाको १५ हजार ४०० हेक्टरमा गहुँ, ७०० हेक्टरमा जौ, ३०० हेक्टरमा मसुरो, ३४ हेक्टरमा तोरी र पाँच हेक्टरमा केराउखेती हुने गरेको कृषि ज्ञानका प्रमुख हरिदत्त जोशीले बताए ।

प्रतिक्रिया