धनगढी । धनगढी उपमहानगरपालिकाले १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ। ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नारासहित आज शुरु भएको प्रतियोगितामा २६ सामुदायिक र २० संस्थागत विद्यालय सहभागी भएका छन्।
माघ ८ गतेसम्म धनगढी रङ्गशालामा सञ्चालन हुने प्रतियोगिता धनगढीका नगरप्रमुख गोपाल हमालले उद्घाटन गरेका थिए । उनले खेलकुद जित–हारमा मात्र सीमित नभई स्वास्थ्य र जीवनशैलीसँग जोडिनुपर्ने बताए । ‘खेलकुद जित्नका लागि मात्रै होइन, स्वस्थ जीवनका लागि खेल्नुपर्छ,’ उनले भने, ‘खेलकुद सधैँको लागि हुनुपर्छ। खेलकुद विद्यार्थीका लागि मात्रै होइन, सबैका लागि आवश्यक छ ।’
उद्घाटन समारोहमा उपमेयर कन्दकला रानाले पनि खेल र खेलाडीको दीर्घकालीन विकासका लागि उपमहानगरपालिका सधैँ साथमा रहेको बताइन्। उनले खेलकुदले अनुशासन, नेतृत्व र सकारात्मक सोच विकास गर्ने उल्लेख गर्दै विद्यार्थीलाई खेलमा सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।
प्रतियोगिताअन्तर्गत विभिन्न एथलेटिक्स, सामूहिक तथा व्यक्तिगत खेलहरू समावेश गरिएका छन् । उद्घाटन समारोहमा उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक विद्यार्थी लगायत सरोकारवालाहरूको उपस्थिति थियो।
प्रतिक्रिया