डडेलधुरा । डडेल्धुराबाट सातौं पटक निर्वाचित र पाँचौं पटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएका शेरबहादुर देउवाको घर जाने सडक कस्तो होला रु भीमदत्त राजमार्गको भातकाँडाबाट भित्री कच्ची सडक हुँदै देउवा जन्मिएको गाउँ गन्यापधुरा गाउँपालिका–१ स्थित मटेला पुग्न करिब १० किलोमिटर यात्रा गरेपछि मात्रै यो सडकको दुर्दशा र यही सडकका कारण स्थानीयले भोगिरहेको सास्ती थाहा हुन्छ ।
अहिले रुवाखोलासम्मको ८ किलोमिटर सडकमा मात्र काम भइरहेको छ । ८ मध्ये चार किलोमिटर सडकमा कालोपत्र भए पनि एक वर्षअघिको बर्खाले ठाउँ–ठाउँमा भत्काएको छ । खाल्डाखुल्डी पनि उस्तै छन् ।
ठेक्का भएको पाँच वर्ष पुग्न लाग्दा पनि यस खण्डको चार किलोमिटर सडक अझै कालोपत्र हुन सकेको छैन । सडक अस्तव्यस्त छ । निरन्तर काम भएको भए ठेक्का भएको तीन वर्षभित्रै चार किलोमिटर सडक कालोपत्र भइसक्थ्यो । काम थालेको पाँच वर्ष पुग्न लाग्दा प्रगति जसोतसो ५० प्रतिशत पुगेको छ । यो बाटो भएर ओहोरदोहोर गर्ने जीप, मोटरसाइकल चालक र यात्रुले दैनिक सास्ती व्यहोर्नुपरेको छ । ठाउँ–ठाउँमा थुपारिएका ढुंगा र गिटीले दुर्घटनाको जोखिम बढाएको छ । अहिले निर्माणस्थलमा कामदार देखिँदैनन् । निर्माणमा प्रयोग हुने स्काभेटर सडकमै अलपत्र छ ।
यो सडकको ट्र्याक खुलेको २६ वर्ष भइसक्यो । तर अझै कालोपत्र गर्ने काम पूरा भएको छैन । सडकको अवस्थाले जीप चलाउन समस्या भएको चालक तेजबहादुर देउवा सुनाउँछन् । ‘यस सडकमा बर्खामा गाडी चलाउन झन् बढी गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्तिको गाउँ जाने बाटोको अवस्था यस्तो छ, यो कुरा भन्दा पनि दुःख लाग्छ ।’
पूर्वप्रधानमन्त्री देउवाले गन्यापधुरा–१ स्थित रुवाखोलाको असीग्राम माविबाट मतदान गर्दै आएका छन् । देउवा मतदान गर्न प्रायः हेलिकप्टर चढेर गाउँ पुग्ने गर्छन् । सडकबाट कमै मतदानस्थल जाने हुँदा आफ्नो गाउँसम्म पुग्ने सडकको कन्तविजोग प्रत्यक्ष देख्न नपाएको स्थानीय बताउँछन् ।
यो सबै ठेकेदारको लापरबाहीका कारण भएको स्थानीय मानबहादुर महताले बताए । ‘देउवा आफैं आएर काम गर्ने होइन,’ उनले भने, ‘हाम्रै अगाडि उहाँले ठेकेदारलाई फोन गरेर भने पनि काम नगरेका हुन् ।’ अनक–मालिका जेभीले उक्त सडक कालोपत्रे गर्ने ठेक्का पाए पनि अहिलेसम्म काम सम्पन्न गरेको छैन ।
ठेकेदारकै लापरबाहीका कारण अहिलेसम्म सडक कालोपत्र नभएको गन्यापधुरा गापा–१ का वडा अध्यक्ष नरेश भण्डारीले बताए । ‘हरेक दिन यात्रामा जनताले दुःख भोग्नुपरेको छ । फेरि बर्खाका बेला यो सडक हिलाम्मे हुन्छ । कहिले गाडी फस्ने, पैदल हिँड्नेहरू चिप्लिएर लड्ने गर्छन्,’ उनले भने, ‘पहिलेभन्दा अहिले केही काम भएको छ ।’
निर्माण व्यवसायीलाई छिटो काम सकाउन प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालय डोटीमार्फत पटक–पटक ताकेता गरिएको उनको भनाइ छ । ‘तीन वर्षमा सकिनुपर्ने काम पाँच वर्ष पुग्न लाग्दा पनि सकिएको छैन,’ उनले भने । यस सडक भएर यात्रु बोकेका चारवटा जीप दैनिक ओहोरदोहोर गर्छन् । मोटरसाइकल सधैं चलिरहेका हुन्छन् । देउवाको गाउँ जाने बाटो समेत अहिलेसम्म नबन्दा स्थानीय आक्रोशित छन् ।
निर्माणको जिम्मा लिने ठेकेदारका धेरै ठाउँमा ठेक्का भएकाले थोरै मेसिन राखेर काम गर्दा ढिलाइ भएको वडा अध्यक्ष भण्डारी सुनाउँछन् । ‘जति स्रोत–साधन परिचालन गरेर काम गर्नुपर्ने हो, त्यो गरिएको छैन,’ उनले भने, ‘अझै पनि काम सम्पन्न हुने कुरामा शंका छ ।’ काम ढिलाइ भएकोबारे पूर्वप्रधानमन्त्री देउवाको सचिवालयबाट पनि ताकेता भइरहेको उनले बताए ।
कालोपत्रको ठेक्का साढे ९ करोडमा भएको र अहिले काम भइरहेको सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टराईले बताए । ‘म्याद दुई पटक थप भइसकेको छ । ०७८ मा भएको ठेक्का अनुसार असार ०८१ भित्र काम सकिनुपर्ने हो,’ उनले भने, ‘काम नसकिएपछि असार ०८२ सम्म म्याद थप गरियो । उक्त समयभित्र पनि काम नसकिएपछि मंसिर ०८२ सम्म समय थप गरियो ।’
तर काम सकिएन । फेरि म्याद थप हुने क्रममा रहेको र ०८२/८३ को अन्तिमसम्म समय थप हुन सक्ने सडक डिभिजनले जनाएको छ । रुवाखोलासम्म ८ किमि सडकमध्ये चार किमि कालोपत्र भइसकेको छ । तर अघिल्लो असोज ०८१ मा आएको पहिरोले क्षति गरेको खण्ड ठेक्का लिने निर्माण कम्पनीले नै मर्मत–सम्भार गर्नुपर्ने छ ।
‘भौगोलिक बनावट पनि त्यस्तै छ । अहिले ठेक्का लिने कम्पनीले छिट्टै काम सक्ने भन्दै काम गरिरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० पनि समयमै भएन,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘तर अब पटक–पटक म्याद थप्दा पनि काम नसकिए नियमअनुसार कारबाही हुन्छ ।’ अब पनि निर्माणमा प्रगति नदेखिए ठेक्का तोड्नुका विकल्प नहुने सडक विभागका महानिर्देशक विजय जैसीले बताए ।
‘धेरै पटक अवसर दिँदा पनि काममा प्रगति नभएका आयोजनाको सूचना निकालेरै ठेक्का तोड्ने काम भएको छ,’ उनले भने, ‘यो सडकमा पनि अन्तिम मौका दिँदा प्रगति नभए तोड्ने प्रक्रिया अघि बढाउँछौं ।’
दुई वर्षसम्म आयोजनाले रुख नहटाइदिँदा काम गर्न नपाएको र अहिले रुख हटाएर काम भइरहेको अनक–मालिका जेभीका रघुवीर साउदले बताए । ‘काम गरिरहेका छौं । माघीका कारण अहिले कामदार घर गएका छन् । माघीले रोकिएको काम माघ पाँच गतेबाट सुरु हुन्छ,’ उनले भने, ‘चैतसम्म काम सक्ने लक्ष्य छ ।’ चैत आउन दुई महिना बाँकी भए पनि कालोपत्रको काम सुरु भएकै छैन । त्यसका लागि बेस राख्ने काम पनि निर्माणस्थलमा भएको छैन ।
यस्तै दुर्दशा भीमदत्त राजमार्गको पनि छ । कैलालीको अत्तरियाबाट डडेल्धुरा सदरमुकामसम्म १ सय १५ किमि दूरी छ । अधिकांश ठाउँमा खाल्डाखुल्डी, कालोपत्र भत्किएको अवस्था, साँघुरो सडकमा गिटी र ढुंगा थुपारेर झन् साँघुरो बनाइएको छ । केही ठाउँमा बल्ल सडक मर्मतको सुरसार भइरहेको छ । दर्जनभन्दा बढी स्थानमा सडक भत्किएर समस्या देखिएको छ । अहिले उक्त राजमार्गको केही खण्डमा मर्मतको काम भइसकेको र केहीमा भइरहेको दाबी सडक डिभिजन डोटीको छ ।
यो राजमार्ग भएर डडेल्धुरा जानेहरू पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको गृह जिल्ला जाने सडकको दुर्दशा यस्तो छ भन्दै आक्रोश पोख्ने गरेको सुनिन्छ । यो राजमार्गमा १० वर्षदेखि यात्रुबाहक माइक्रो चलाउँदै आएका बझाङका चालक महेश धामी सडकमा खासै सुधार नभएको गुनासो गर्छन् ।
‘खाल्डाखुल्डी धेरै भएर गाडी चलाउन गाह्रो हुन्छ,’ उनले भने, ‘केही ठाउँमा मर्मत गरिएको भए पनि धेरै ठाउँमा अझै उस्तै समस्या छ ।’ यो राजमार्ग भएर डडेल्धुरा सदरमुकामसँगै डोटी, बाजुरा, बैतडी, बझाङ, दार्चुला र अछाम जाने यात्रु तथा चालकले यात्रामा बढी सास्ती झेल्ने गरेका छन् । डडेल्धुरा खण्डमा मात्र सडकको समस्या धेरै देखिन्छ ।
प्रतिक्रिया