ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका अधिकांश विशिष्टीकृत सहकारी संस्था निस्क्रिय

बुधबार १४, माघ २०८२ १०:०७

धनगढी । कुनै एक विशिष्ट उद्देश्यले गठन गरिएका सहकारी संस्थाहरुले सो उद्देश्यमा काम गर्न नसकेर निस्क्रिय भएका छन् ।

दुग्ध उत्पादन तथा विक्री, बंगुरपालन, कुखुरापालन लगायत विशिष्टीकृत उद्देश्यले स्थापना भएका सहकारीहरु बन्द भएका छन् ।

दुध उत्पादन, संकलन तथा विक्री गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका वडा नं. १ मा गठन गरिएको शुभलक्ष्मी दुग्ध सहकारी संस्था निस्क्रिय रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । धनगढीकै वडा नं. ७ पटेलामा गठन गरिएको शिप महिमा बंगुरपालन पशु विकास सहकारी संस्था पनि निस्क्रिय छ । उक्त संस्था तत्कालीन जिल्ला पशु सेवा कार्यालय कैलालीको बीऊ पुँजी सहयोगमा गठन गरिएको थियो । पशु सेवा कार्यालय विगठन भएसंगै सहकारी समेत बन्द भएको हो ।

यसैगरी, गोदावरी नगरपालिका वडा नं. ३ मा गठन भएको सुदूरपश्चिम कुखुरा कृषि सहकारी संस्था पनि निस्क्रिय रहेको गोदावरी नगरपालिकाले जनाएको छ । २०६८ सालमा बीऊ पुँजी दिने दाता पाएर गठन गरिएको उक्त सहकारी दाता गैरसरकारी संस्थाको कार्यक्रम सकिएसंगै निस्क्रिय भएको गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीले बताए । 

गोदावरी–८ श्रीपुरको श्रीपुर दुग्ध सहकारी संस्थाले पनि किसानहरुबाट दुध संकलन गर्दै आएको थियो । तर पछिल्लो समय उक्त सहकारीले दुध संकलन गर्न नसकेको अध्यक्ष नन्दलाल भट्टले बताए । उनले कोभिड १९ शुरु हुनु भन्दा पहिले राम्रैसंग दुध संकलन भइरहेको भएपनि कोभिडपछि सहकारीले दुध संकलन गर्न नसकेको बताए । उनले सहकारीले किसानबाट दुध खरिद गर्ने दर भन्दा क्यान लिएर दुध संकलन गर्दै हिड्ने ठेकदारले बढि दरमा दुध किनिदिन थालेपछि किसानहरुले सहकारीलाई दुध नदिएको बताए । 

श्रीपुर सहकारीले दुध उत्पादक किसानहरुबाट दुध खरिद गरी संस्थानलाई विक्री गर्ने गरेको थियो । यस सहकारीले पनि दुध प्रशोधन गरी विभिन्न वस्तु बनाएर विक्री गर्न तर्फ नलागेको कारण पछिल्लो समयमा कारोबार बन्द गर्नुपरेको पूर्वअध्यक्ष भट्टले बताए । यसपछि उक्त सहकारी पनि निस्क्रिय भएको छ ।

विगतमा गैरसरकारी तथा सरकारी संस्थाहरुको एनजिओ आएर दर्ता गराएका सहकारीहरु परियोजना सकिएपछि सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख जोशीले बताए । उनले यसरी गठन भएका प्रायः कृषि र कृषि क्षेत्रका विशिष्टीकृत सहकारी संस्थाहरु रहेको बताए ।

सहकारी आफैले दुध, मासु लगायतका वस्तु आफैले उत्पादन गर्ने वा किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्ने वा अन्य कुनै क्षेत्र कुनै एक उद्देश्य लिएर गठन गरिएका सहकारीलाई विशिष्टीकृत सहकारी भनिन्छ । एकल उद्देश्यका यि सहकारीहरु अधिकांश निस्क्रिय रहेको स्थानीय तहहरुले जनाएका छन् । 

दुध संकलन मात्रै नगरी दुध प्रशोधन समेत गरी विभिन्न वस्तु तयार गरेर विक्री गर्ने उद्देश्यले कैलालीमा १० दुग्ध सहकारी संस्था रहेको जिल्ला सहकारी संघ कैलालीले जनाएको छ । संघका अनुसार जिल्लाका १० मध्ये केहीले मात्रै उद्देश्य अनुसारको काममा सक्रिय छन् भने अधिकांश निस्क्रिय छन् ।

सुदूरपश्चिम प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा दर्ता भएका १० वटा दुग्ध सहकारी छन् । तर ति सहकारीले के गरिरहेका छन् भन्ने तथ्यांक सहकारी रजिष्ट्रार कार्यालयमा छैन । पछिल्लो समयमा सहकारीको प्रभावकारी अनुगमन र मुल्यांकन हुन नसकेको अवस्थामा सरकारी निकायलाई सहकारीहरुले सहकारी ऐन २०७४ अनुसार रिपोर्टिङ समेत नगरेकोले सहकारीहरुको अध्यावधिक तथ्यांक उपलब्ध हुन नसकेको प्रदेश सहकारी रजिष्ट्रार गणेशसिंह ऐरीले बताए । उनले दुग्ध सहकारीहरुले साँच्चै दुध उत्पादन गर्दै छन् कि दुग्ध संकलन मात्रै गरिरहेका छन् वा बन्द अवस्थामा छन् भन्न नसकिने अवस्था रहेको बताए । उनले कतिपय सहकारीले दुग्ध उत्पादन र बजारीकरणको क्षेत्रमा सकारात्मक प्रगति गरेको सुन्नमा आएपनि एकीन जानकारी कार्यालयमा नरहेको बताए ।

प्रतिक्रिया