बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ मा नेपाल टेलिकमको एनटी फाइबर जडान अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।
स्थानीय बासिन्दाहरूले लामो समयदेखि डिजिटल पहुँचको माग गर्दै आएका छन्, तर अहिलेसम्म कुनै ठोस प्रगति नदेखिएको छैन। घरको अगाडि लाइन त पुगेको छ, तर जडान नहुँदा विद्यार्थी, व्यवसायी र सामान्य बासिन्दामा ठूलो असुविधा देखिएको छ। विद्यार्थीहरूले अध्ययनका स्रोत सामग्री र अनलाइन कक्षामा पहुँच नपाउँदा पढाइ प्रभावित भएको गुनासो गरेका छन् ।
त्यस्तै, साना व्यवसायीहरूले डिजिटल कारोबार र बैंकिङ्ग सेवामा अवरोध अनुभव गरिरहेका छन् । स्थानीय बासिन्दाहरूले नेपाल टेलिकमसँग पटक पटक सम्पर्क गरे पनि प्रत्यक्ष र ठोस कदम नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
एक स्थानीय बासिन्दाका अनुसार घर अगाडि लाइन त आएको छ, तर जडान कहिले हुन्छ भन्ने जानकारी छैन । ‘हामीले एनटी फाइबर नेट जडान गर्नको लागि एक महिना पहिले निवेदन दिएको थियौं,’ उनले भने, ‘तर अझै पनि कुनै प्रतिक्रिया आएको छैन । लामो समय प्रतीक्षा गर्दा पनि स्थिति यथावत छ।’
इन्टरनेट केवल सञ्चारको माध्यम मात्र नभएर विकासको आधार पनि बनेको छ। डिजिटल पहुँचविनाको जीवन र कारोबार क्रमिक रूपमा प्रभावित हुन थालेको छ। बासिन्दाहरूले छिटो फाइबर जडान गर्न अत्यावश्यक रहेको बताए । उनीहरुले नेपाल टेलिकम र स्थानीय प्रशासनलाई स्पष्ट समयसीमा सहितको योजना पेश गर्न जोड दिएका छन्।
स्थानीय विकासको लागि डिजिटल पहुँच अपरिहार्य भएको यस समयमा, बुढीगंगा–७ का बासिन्दाले अब व्यवहारिक कदम र स्पष्ट जानकारीको अपेक्षा राखेका छन्।
प्रतिक्रिया