धनगढी । टीकापुर हत्या घटनाको जगमा पहिचानको नारा दिएर २०७९ को स्थानीय, प्रदेश सभा र प्रनिनिधि सभाको निर्वाचनमा जित हात पारेर क्षेत्रीय शक्तिका रूपमा पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० तीन वर्षमै अनेक टुक्रामा विभाजित भएको छ ।
साबिक नाउपामा रहेका शीर्ष नेताहरू नै आसन्न निर्वाचनमा आइपुग्दा ६ वटा अलग–अलग पार्टीबाट उम्मेदवार बनेका छन् । साबिक नाउपाका संरक्षक रहेका रेशम चौधरी अलग पार्टीका उम्मेदवार, अध्यक्ष रहेकी रेशमपत्नी रञ्जिता श्रेष्ठ चौधरीले नाउपालाई नेकपामा विलय गराइन् । कैलाली निर्वाचन क्षेत्र १ नाउपा गठनको आधारभूमि बनाइएको थियो । अहिले त्यही निर्वाचन क्षेत्रमा साबिक नाउपाकै नेताहरू ६ टुक्रामा विभाजित भएर अलग–अलग पार्टीबाट उम्मेदवार बनेका हुन् ।
नाउपाबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका रेशमको उम्मेदवारीलाई भने निर्वाचन आयोगले बदर गरिसकेको छ ।
टीकापुर नगरपालिकामा नगर प्रमुख समेत रहेका रामलाल डगौरा थारु नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् भने अर्का नेता प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार बनेका छन् । नाउपाकै एक टुक्रा श्रम संस्कृति पार्टीमा गएको छ । श्रम संस्कृति पार्टीबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छिन् । उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भएको छ । कैलाली १ मा रास्वपाले साविक नाउपाकै कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ । रुपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छिन् ।
रेशम–रञ्जिता दम्पतीबीच चर्किएको सत्ता र शक्ति संघर्षले पश्चिम तराईका थारु समुदायको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीको जसरी अकस्मात् उदय भयो, त्यसै गरी छोटो समयमा सो पार्टी विलयको अवस्थामा पुगेको हो ।
रेशम–रञ्जिता लगायत थारु अगुवा नेताहरु एकजुट भएपछि ०७९ को प्रतिनिधि सभामा कैलालीका तीनवटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष, प्रदेश सभामा ६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र कैलालीकै चारवटा स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए । रञ्जिता श्रेष्ठले कैलाली निर्वाचन क्षेत्र १ बाट विजयी भएकी थिइन् । तर पार्टी गठन भएकै तीन वर्ष पार नहुँदै नाउपाको त्यो विजय स्मृति बन्न पुगेको छ ।
कैलाली निर्वाचन क्षेत्र १ मा नाउपाबाट टुक्रिएर अलग पार्टीमा प्रवेश गरेका चार जनासहित कांग्रेसका जनकराज चौधरी एमालेबाट उम्मेदवार रहेका द्वारिकाप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक नाउपाबाट निर्वाचित कैलालीका चार स्थानीय तह प्रमुखमध्ये टीकापुरका रामलाल डगौरा थारु नेकपाबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी उज्यालो नेपालमा आकर्षित छन् ।
सुदूरपश्चिम प्रदेश सभामा साबिक नाउपाका सात जना सांसद भने अर्को पार्टीमा गए पदमुक्त हुने भएको रञ्जितासँगै बाध्यात्मक रुपमा नेकपामा बसेका छन् । उनीहरुमध्ये ६ जना सांसद विगतमा रेशम चौधरी निकट भएर भूमिका निर्वाह गर्दै आएका थिए । तीनवटै तहमा गरी वडाध्यक्षबाहेक नाउपाबाट १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नाउपा गठन हुँदाका २१ जना केन्द्रीय सदस्यमध्ये केही सदस्य यसअघि नै निस्क्रिय थिए । संस्थापक केन्द्रीय सदस्य आलोक चौधरी र आशिन चौधरी रेशमको पार्टीमा लागेका छन् । ‘एक निर्वाचनबाट अर्को निर्वाचनसम्म पुग्दा नाउपा ६ टुक्रामा विभाजित हुन पुग्यो,’ नाउपालाई स्थापनाकालदेखि निकटबाट नियाल्दै आएका टीकापुरका नागरिक अगुवा कृष्णराज सर्वहारी भन्छन्, ‘रेशम–रञ्जिताबीच चलेको शक्ति संघर्षले नाउपाको यस्तो हालत बनेको हो । अगुवा नेताहरुले नाउपा स्थापना गर्दाका नारा र वाचा बिर्सिएर सत्ता र पदको दौडमा लागेकै कारण यस्तो हालत भएको हो ।’
प्रतिक्रिया