डोटी । ०६५ सालसम्म बोगटान फूडसिल गाउँपालिकाको वडा नं. ७ उजेली र सुवातालमा ३० परिवार बसोबास गर्थे । आफ्नै खेतवारीमा फलेको अन्नपानी, सागपात र फलफूलले जीवनयापन सहज थियो ।
तर ०६७ सालमा आएको बाढिपहिरोले खेतबारी बगाएर लग्यो । सिँचाइ कुला तथा पानीका मुहानहरु सुके । सुख्खा खडेरीले ओजेली र सुवातालबासी विस्तारै बसाइसराइ गरेर तराइ झरे । अहिले गाउँमा ८÷१० परिवार मात्र छन ।
‘हेर्दाहेर्दै बस्ती उजाड भयो’, सरस्वती बोहराले भनिन्, ‘कालापानी जंगल पनि बिस्तारै उजाड हुँदै गएपछि गाउँमा आउने पानी पनि सुक्यो । बस्ती सर्ने क्रम तीब्र भयो । अहिले केही परिवार मात्र छौं ।’
ओजेली र सुवाताल गाउँकै नियतीमा पुग्न लागेको सम्झन्छन् लखुडा गाउँका योगेन्द्र बोहरा । ०७० सालमा धोबिखोला खानेपानी आयोजना बनेपछि मुहान सुकेकाले धारामा प्रयाप्त पानी आउँदैनथ्यो ।
१८ घरधुरी रहेको लखुडा गाउँ नजिकको सुकिलमाटी सामुदायिक बन अन्र्तगतको कालीपानी क्षेत्रमा खडेरीले रुखविरुवा नासिन थालेपछि केही बर्ष पानीको हाहाकार भयो । उनीहरुले अर्को बुदेपानी भन्ने ठाउँमा दास्र्रो मुहान खोजेर खानेपानी ल्याए । त्यसमा पनि पानी अभाव भएपछि लखुडा गाउँबासी चिन्तित बने ।
तर केहीबर्ष यताभने लखुडागाउँबासीलाइ खानेपानीको पिरलो छैन । १८ घरधुरीका लागि बनेका ७ वटा धाराले लुगाकपडा धुन, सरसफाइ गर्ने देखि बारीमा सिँचाइ गर्न पुगिरहेको छ । ‘सागपात तरकारी लगाउन पनि भ्याइएको छ’, सरस्वती बोहराले भनिन,‘पानीको अभाव हुने चिन्ता आजभोली घटेको छ ।’
लखुडाबासीमा देखिएको यो परिवर्तन भनेको रिचार्जपोखरी निर्माणले हो । आँगन अघि बनेका खानेपानीका धारामा पानी घट्नथालेपछि गाउँलेहरुले ग्रामिण समुदाय विकास केन्द्रको सहयोगमा गाउँको सिरानमा रहेको कालीपानी बन क्षेत्रमा खाल्डो खनेर रिचार्ज पोखरीहरु बनाए । स्थानीय योगेन्द्र बोहराले संस्थाले पानीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी बनाउनुपर्ने सुझाव दिएपछि दुइ बर्ष अघि निर्माण सम्पन्न गरेको जानकारी दिए ।
‘अहिले जंङ्गलमा सुक्न थालेका रुखहरु पनि पलाउन सुरु भइसके’, बोहराले भने, ‘गर्मियाममा पनि आजभोली पानी धारामा आइरहन्छ । डाँडामा निर्माण गरिएको पोखरीले फेदमा रहेका स–साना सुकिसकेका मूलहरु पनि फूट्न लागेका छन ।’ लखुडाबासीले २ वटा रिचार्जपोखरी बनाएका छन् ।
आजभोली ओजेली र सुवाताल गाउँमा पनि त्यहीको पानी लगेको बोहराले जानकारी दिए । तर बस्ती बसाइसरेर तराइ झरिसकेकाले थोरै मात्र उपयोगमा आएको छ ।
रिचार्ज पोखरी निर्माण पछि दैनिकि फेरिएको बोगटान फूडसिल गाउँपालिका वडा नं. ४ जलजला गाउँकी यशोदा बम पनि बताउँछिन । विगतमा पानी अभावले भोकै सुत्न परेको, दुइ घण्टा पैदल हिँडेर टुनागाड खोला लुगाधुन गएको घटना हिजो जस्तै लाग्छ ।
‘पानीको प्यास मेटाउन घर नजिक स–साना खाल्डा बनाएर गुजारा गथ्र्यौ’, बमले विगत सम्झदै भनिन,‘बर्षातमा आएको भलले खाल्डाहरु पुथ्र्यो, भोकै कति रात बितायौं ।’ ती खाल्डाहरु पनि बनजङ्गल अतिक्रमणमा पर्दै गएपछि सुक्दै जान थाले ।
२२ घरधुरी भएको उनको डाँडाटोलमा रिचार्ज पोखरी बनाएर सिन्याडी खानेपानी निर्माण गरेपछि दुखःका दिन घटे । उनकै छेउमा रहेको लेकटोलबासीले पनि सिन्याडी खानेपानीबाटै पाइप लगेर धाराहरु जोडे । अहिले डाँडा टोल र लेकटोलमा गरि ३ वटा रिचार्ज पोखरी बनाइएका छन ।
रिचार्ज पोखरीले जमिन रसाउदै मुलहरुमा पानी थिग्रीन थालेपछि स्थानीय खुसी छन् । गर्मियाममा पानीको मात्रा केही कम भएपनि अभाव भने नहुने गरेको उनले सुनाइन ।
डोटीको बोगटान फूडसिल गाउँपालिकाभित्रका सुख्खा बस्तीहरुमा रिचार्ज पोखरी निर्माण गरेर पानीको जोहो गर्ने काम बढ्दै गएको छ । बोटबिरुवा समेत सुकेर खडेरी हुन थालेका बस्तीमा रिचार्जपोखरी पछि करेसाबारी बनाउने, बेमौषमी तरकारी लगाउने, धान र गहुँ खेतीमा सिँचाइ गरेर राहत महसुस गरिरहेका छन् ।
बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल गडसिला विपद जोखिम न्यूनीकरण योजना बनाएर मागका आधारमा रिचार्जपोखरी बनाउने, पानीका स्रोतहरुको संरक्षण गर्ने काम विभिन्न गैरसकारी संस्थाहरुसंगको सहकार्यमा भइरहेको बताउँछन ।
बोगटान फूडसिल गाउँपालिकाको वडा नं. १, ४ र ७ मा चार बर्ष यता विभिन्न स्थानहरुमा गाउँपालिकाको सिफारिसमा रिचार्ज पोखरी निर्माण धमाधम भइरहेको दिगो बाताबरणका लागी जलबायु परिवर्तन प्रभाब न्यूनीकरण तथा अनुकुलन परियोजना प्रमुख प्रयागराज कापडीले जानकारी दिए । परियोजनाको सहयोगबाट ७ वटा सामुदायिक बन उपभोक्ता समितीमा पानीका मुहान संरक्षणका लागी २८ वटा रिचार्ज पोखरी निर्माणका साथै पानीको स्रोत संरक्षणका लागि वृक्षारोपण, ७ खानेपानी उपभोक्ता समिती मा २३ वटा पानीका स्रोत संरक्षण गरी खानेपानीका मुहान टंकी पाईपलाईन र धारा निर्माण भएका छन् ।
कतिपय किसानले त रिचार्जपोखरीलाइ आयस्रोतका रुपमा समेत उपयोग गर्न थालिसकेका छन् । वडा नं. ७ सुकाटी गाउँका किसान कलम सेट्टीले माछापालन सुरु गरेका छन् । गाउँतल पानी सुक्यो भनेर मेरो घर भएको डाँडाको टाउकोमा गाउलेहरुले रिचार्ज पोखरी बनायौं’, सेट्टीले खुसी साट्दै भने,‘मैले त्यसमा १२ सय माछा हालेको राम्रै उत्पादन भयो ।’ लेकाली भेगमा यसरी माछापालन होला भन्ने आफ्नो कल्पनाबाहिरको योजना भएपनि रिचार्जपोखरी निर्माण पछि सम्भव भएको उनले सुनाए ।
‘अव नजिकै अर्को रिचार्ज पोखरी बनाउने योजनामा छु’, पालनपालनबाट हौसिएका उनले आफ्नो योजना सुनाए । माछापालनले आफ्नो घरखर्च चलीरहेको उनी बताउँछन् ।
त्यसबाहेक स्थानीय क्षेत्रमा खेर गइरहेका बास निगालो तथा बन पैदावरवाट उपहार दिन मिल्ने दैनिक उपभोग्य एवम कृषि सामाग्री निर्माणमा समेत किसानहरु अभिप्रेरित भइ व्यवसाय समेत सुरु गरिसकेका छन् ।
वैकल्पीक उर्जाको क्षेत्रमा वडा नं १ का १८२ परिवारलाई सोलार समेत वितरण गरिएको छ भने विभिन्न वडाहरुमा ८ वटा सुधारीयको पानी घट्ट निर्माण गरिदिएपछि स्थानीयमा खुसियाली छाएको छ । घण्टौ पैदल हिँडेर पिसानीका लागि टाढा जानु पर्ने बाध्यता टरेको स्थानीय सुनाउँछन् ।
प्रतिक्रिया