काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु–छोराको हत्या भएको खुलेको छ । सोमबार ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । प्रहरीमा आत्मसर्मण गरेका मिलनले हत्या गरेको स्वीकारसमेत गरिसकेका छन् ।
हत्यापछि आफूले पनि झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान उनले प्रहरीलाई दिएका छन् । ‘मैले जागिर खाएको हेर्ने सपना बुवाको थियो । ६–७ पटक लोकसेवाको परीक्षा दिँदासमेत म पास भइनँ । त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ,’ मिलनले प्रहरी अधिकारीसँग बयानमा भनेका छन् ।
मिलनले बुबा र भाइको हत्याको योजना केही दिनअघि देखिनै बनाएको पनि प्रहरीलाई बताएका छन् । प्रहरीले उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया