ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा हानिकारक मह बिक्री गर्ने १६ जना भारतीयविरुद्ध मुद्दा

मङ्गलबार ०९, पुष २०८१ ०५:११

धनगढी । कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दुषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरु विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

१५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए । 

टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो । मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सूचना अधिकारी लामीछानेले बरामद महको नमुना परीक्षण गर्दा दुषित देखिएको बताए । ‘प्रयोगशालामा परीक्षण गर्दा मह प्रदुषित र स्वास्थ्यमा हानी हुने पदार्थ रहेको पुष्टि भएको छ’ लामीछानेले भने, ‘मह मिसावट गरेर बनाएको देखियो ।’ महमा मानिसको स्वास्थ्यलाई हानी हुने रसायन मिसावट गरेको पाइएको खाद्यले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता आठ वटा व्यवसायीक फमलाई कारबाहीको दायरामा ल्याइएको उनले जानकारी दिए । उपभोग्य अवधि नलेखिएका तथा गुणस्तर नभएका सामान बिक्री गर्ने र दर्ता विना उपभोग्य बस्तु बिक्री गर्ने आठवटा फमविरुद्ध पनि मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया