ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आफूलाई भन्दा बिरालोलाई धेरै माया गरेको भन्दै लोग्नेविरुद्ध मुद्दा

मङ्गलबार ०९, पुष २०८१ ०६:०७

दिल्ली । कोही मानिसलाई अड्डा अदालत धाउने सोख नै हुँदो रहेछ । छिमेकी मुलुक भारतमा हालै एउटा यस्तै अनौठो मुद्दा त्यहाँको एक उच्च अदालतमा दायर भएको छ । 

कर्नाटक उच्च अदालतमा एकजना महिलाले आफ्नै पतिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । पतिविरुद्ध उनले लगाएको आरोप छ-पतिले मलाईभन्दा घरमा पालेको बिरालोलाई बढि माया र हेरचाह गरे । तर, अदालतमा त्यस्तो बेतुकको मुद्दा हालेकी महिलालाई इजलासमा न्यायाधीशले बेस्कन झपारेका छन्। 

पतिले आफूभन्दा घरको बिरालोलाई धेरै ध्यान दिएको भन्दै पतिविरुद्ध क्रूरताको अभियोगमा मुद्दा हालेकी ती महिलालाई न्यायाधीश एम नागाप्रसन्नाले झपारे । किनकि उनको निवेदनमा पतिले उनीप्रति गरेको कुनै दुर्व्यवहार तथा हिंसाको विषय उल्लेख थिएन, मात्र आफूलाई भन्दा बिरालोलाई धेरै माया र ध्यान दिएको भन्ने इर्ष्यामात्रै थियो ।

सोही कुराले पतिसँग आफ्नो झगडा भैरहने भन्दै उनले बिरालोले समेत आफूलाई कैयन् पटक आक्रमण गरी चिथोरेको तर आफूलाई बचाउन र बिरालोलाई भगाउन पतिले केही पनि भूमिका नखेलेको बताएकी थिइन् ।

उक्त निवेदन हेरेपछि न्यायाधीश नागाप्रसन्नाले फिरादकर्ता महिलाको निवेदनमै पतिले दाइजो मागेको, दाइजो मागेर आक्रमण गरेको वा अरु कुनै भौतिक आक्रमण तथा क्रूरता देखाएको कुरा कहीकतै उल्लेख नभएको र मुख्य गुनासो नै घरमा पालेको बिरालोप्रति पतिले धेरै ध्यान दिएको भन्ने रहेको भन्दै निवेदक महिलालाई अदालतको समय बर्बाद गर्नका लागि बेतुकको मुद्दा दर्ता गरेको भन्दै उल्टै गाली गरे ।

साथै उक्त निवेदनलाई खारेज गर्दै उनले भारतीय न्याय प्रणाली यस्तै खालका निवेदनहरुले जाममा परेको पनि बताएका छन् । यस्ता विषयमा मुद्दा अगाडि बढाएर अनुसन्धानका लागि आदेश दिएमा त्यसले अहिल्यै जाममा परिसकेको न्याय प्रणालीमा थप एउटा नयाँ मुद्दा थप्ने मात्र काम हुने ठहर न्यायाधीशको छ ।

प्रतिक्रिया