ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने कर्मचारीलाई स्पष्टीकरण

शुक्रबार २९, फागुन २०८२ ०८:०५


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २४ घण्टे स्पष्टीकरण मागेको छ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै स्पष्टीकरण सोधेका हुन्।

केही दिनअघि एक सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।

मन्त्रालयले भट्टलाई २४ घण्टाभित्र स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न भन्दै तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा निजामती सेवा ऐन तथा नियमावलीअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।


प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट साउन ३० गते भट्टको पहलमानपुर सरुवा भएको थियो । ऐनविपरीत आफूहरूको सरुवा गरिएको भन्दै भट्टले उच्च अदालत दीपायलमा रिट दायर गरेको थिए । अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । केही समयपछि उच्च अदालतले सरुवाको निर्णय कार्यान्वयन नगर्न दिएको आदेश निष्क्रिय पारेकोमा वरिष्ठ डिभिजनल वन अधिकृत भट्टलाई प्रदेश वन निर्देशनालय तानिएको थियो ।
घुस मागेको आरोपपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गरै आफ्नो धारण सार्वजनिक गरेका छन् । उनले आफूले घुस नमागेको बताउँदै भट्टले लगाएको आरोपमाथि छानबिन गरिदिन आग्रह गरेका छन् । `छानबिन गर्ने थुप्रै निकाय छन्,´ मुख्यमन्त्री शाहले भने, `तत्काल छानबिन गरिदिनु पर्‍यो । म दोषी देखिएपछि म कारबाही भोग्न तयार छु। होइन भने जथाभावी आरोप लगाउने कर्मचारीलाई कारबाही हुनुपर्छ ।´

सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लामोसमयदेखि मन्त्रीविहीन छन् । नाउपाबाट वनमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले कार्यशैली ठिक नभएको भन्दै असारमा बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहले आफैसंग राखेका छन् ।

प्रतिक्रिया