धनगढी । कैलालीमा जालपादेवी केबलकारको निर्माण सुरु भएको छ । शनिबार एक कार्यक्रमकाबीच केबलकार योजनाको शिलान्यास गरिएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने केबलकारको शिलान्यास गरेकी हुन् ।
चन्द्रागिरी केबलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो ।
सञ्चालक चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारले सुदूरपश्चिमसहित छिमेकी प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुगाउने विश्वास गरे । पर्यटन प्रवद्र्धनका लागि पनि केबलकार कासेढुंगा सावित हुने उनको दाबी थियो ।
अर्का सञ्चालक थापाका अनुसार पहिलो चरणको कामको सुरुवात वैशाखमै भएको थियो । एक वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम थालेको थापाले बताए । ‘क्षेत्राधिकारमा पर्ने रुख काट्ने र सरकारबाट कम्पनीको नाममा जमीन लिने काम सकिएको छ,’ उनले भने, ‘आयोजनास्थलका एक हजार आठ सय ६६ वटा रुख काटिएका छन् । २० बिघा जमीन कम्पनीका नाममा आइसकेको छ ।’
थापाका अनुसार सात अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । ‘केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन्,’ उनले भने, ‘सो यात्रा करिब १० मिनेट हुने छ ।’ थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने छ ।
केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । यस्तै केबलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ ।
प्रतिक्रिया