ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा कहाँबाट भित्रिदैछ अवैध सुन ?

सोमबार १५, पुष २०८१ ०७:५२

धनगढी । २२ मंसिरमा कैलालीको भजनीबाट सुनचाँदी र नगदसहित तीन जना पक्राउ परे । भजनी नगरपालिका– ५ स्थित कौवाखेडा सीमा इलाकाबाट सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार पक्राउ परेका थिए ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट पगियापसारले उनीहरूलाई ८० लाख ७९ हजार ५६१ रुपैयाँ मूल्य पर्ने ६२० ग्राम सुनसहित पक्राउ गरेको थियो । उनीहरुको साथबाट १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ पनि बरामद भएको थियो । उनीहरूको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर सामान बरामद गरिएको हो ।

०००

७ पुसमा कैलालीमा आधा किलो बढी सुनसहित दुई भारतीय नागरिक पक्राउ परे । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट भारतको पलिया बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार यूपी ३२ जेभी ९२०० नम्बरको कारलाई शंका लागि चेकजाँच गरिएको थियो ।

‘उक्त गाडीभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई ५४९.२०० ग्राम सुन जस्तो देखिने पदार्थका दुई टुक्रा फेला परेपछि गुप्ता र बर्मालाई पक्राउ गरिएको हो,’ उनले भने । उनीहरूको साथबाट एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार ८१० नेपाली रुपैयाँ, एक हजार दुई सय ८० भारतीय मुद्रा र कार बरामद गरिएको छ ।

०००

१० पुसमा सुनचाँदीका गहनासहित बाजुरा बुढीगंगा नगरपालिका– १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने ३४ वर्षीय रम्भा जैशीलाई कैलालीको टीकापुर नगरपालिका–१ गणेशपुरबाट पक्राउ गरियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट ५० ग्रामको चाँदीको एक सिक्का, पत्थरसहितको हिरा जस्तो देखिने दुई औंठी, सुनको एक थान बेरुवा औंठी, सुनको अर्को एउटा औंठी र सुनको दुई थान सिक्री बरामद गरिएको थियो । यस्तै हिरासहितको सुन जस्तो देखिने एक जोर झुम्का, खुट्टाको औलामा लगाउने दुई थान बिछिया, कालो पोते भएको सुनको नागिनी माला, चारकुने सुनको एक जोर टप र सुनको स्टार भएको एक झुम्का पनि बरामद गरिएको थियो ।

०००

कैलालीमा पछिल्लो समय सुनसहित व्यक्ति पक्राउ पर्न थालेपछि भारतबाट कैलाली हुँदै सुनको तस्करी भइरहेको आशंका गर्न थालिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ कैलालीको अध्यक्षमा यदु सुनार कैलालीमा भित्रिरहेको अवैध सुन चोरीको भएको बताउँछन् । ‘भारतका विभिन्न स्थानबाट चोरी गरेर ल्याएको सुन नै प्रहरीले बरामद गरेको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले उस्तै सुनभन्दा पनि गहना बरामद भएका छन् । हामीले त्यस्तो सुन खरिद नगर्न व्यवसायीहरुलाई पटकपटक निर्देशन गर्दै आएका छौं ।’ उनका अनुसार कैलालीमा अवैध सुन ‘घोल गाढ्ने’ समूहले भित्र्याउँदै आएको छ । कैलालीबाटै सुनको तस्करी भइरहेकोमा भने उनी सहमत छैनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहरा सुनसहित व्यक्ति पक्राउ परेको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँछन् । ‘सुनको गहना बरामद भएको अवस्थामा भारतमा चोरी गरेर भित्रियो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ उनले भने, ‘सुन नै बरामद हुँदा तस्करीको कोणबाट पनि हामीले अनुसन्धान गर्छाैं ।’

नेपालभन्दा भारतमा सुनको मूल्य कम भएको हुँदा अवैध सुन भित्रिने क्रम बढेको हुनसक्ने डीएसपी बोहराको भनाई छ ।

प्रतिक्रिया