ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ठेकेदारको लापरबाही र बजेट अभावको मारमा हुलाकी राजमार्ग

सोमबार ०३, मङि्सर २०८१ १०:४८

धनगढी । कैलाली र कञ्चनपुर जिल्लामा हुलाकी राजमार्ग निर्माण कार्यले विगत केही वर्षदेखि बजेट अभाव झेल्दै आएको छ । बजेट अभाव र निर्माण कम्पनीको लापरबाहीका कारण हुलाीकको स्तर वृद्धिका लागि २०७३ देखि लगाइएका ठेक्काको समयावधि लम्बिदै आएको छ । जसले गर्दा हुलाकी सडकमा आवागमन सहज हुन नसक्नुका साथै लागतमा समेत वृद्धि भइरहेको छ । 

नेपाल सरकारले हुलाकी सडकका लागि चालु आर्थिक वर्ष २०८१÷०८२ मा विनियोजन गरेको ३२ करोड रुपैयाँ गत वर्षको बाँकी रकम र पहिलो चौमासिकको कामको भुक्तानी दिएर दसैँअघिनै सकिएको छ । चालु आर्थिक वर्षमा मात्र नभइ गत आर्थिक वर्षमा पनि हुलाकी सडकका लागि बजेट अभाव थियो ।  

बजेट अभावकै कारणले हुलाकी राजमार्ग निर्माणको कामले गति नपाएको हुलाकी राजमार्ग आयोजना कार्यालयका इञ्जिनियर रमेश पन्तले बताए । हरेक वर्ष बजेट अभावसँगै निर्माण कम्पनीले काममा लापरबाही गर्दा तीन वर्षमा सकिनुपर्ने ठेक्काको काम ९ वर्षसम्म अधुरै छ । 

आयोजना कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्षमा ७७ करोडको काम भएको थियो । त्यसमध्ये ५५ करोड रुपैयाँ गत वर्ष भुक्तानी भइ २२ करोड रुपैयाँ निर्माण कम्पनीहरुलाई भुक्तानी दिन बाँकी थियो । ‘यो वर्ष विनियोजना भएको ३२ करोडबाट २२ करोड रुपैयाँ गत वर्षको बाँकी भुक्तानी गरियो,’ पन्तले भने, ‘बाँकी रहेको १० करोड रुपैयाँ पहिलो चौमासिकमा भएको कामको भुक्तानी गर्दा बजेट सकियो ।’

चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग आयोजना कार्यालयलाई एक अर्ब ७० करोडको हाराहारीमा दायित्व थियो । तर नेपाल सरकारले दायित्व भन्दा निकै कम बजेट विनियोजन गरेको छ । आयोजना कार्यालयले थप बजेट माग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाएको छ । इञ्जिनियर पन्तले एक अर्ब रुपैयाँ माग गरिएको जानकारी दिए । 

हुलाकी राजमार्ग स्तर वृद्धि गर्न कैलाली खण्डमा सात, कञ्चनपुर खण्डमा तीनवटा गरी १० सडकको ठेक्का र सात वटा पुलको ठेक्का लगाइएको छ । चालु आर्थिक वर्षमै ती ठेक्काहरुको थपिएको म्याद पनि सकिदैछ । ठेक्काको म्यादका कारण यसै आर्थिक वर्षभित्र सबै ठेक्काको काम सक्नुपर्ने दवाव भए पनि बजेट अभावले निर्माणको कामले गति लिन सकेको छैन । 

‘निर्माणको काम यसै वर्षभित्र सक्नुपर्ने दवाव छ । हामीले पनि निर्माण कम्पनीहरुलाई समयमै काम सक्न भनेका छौँ,’ इञ्जिनियर पन्तले भने, ‘तर काम गरेको भुक्तानी नपाइने अवस्थामा निर्माण कम्पनीहरुले काम गर्न रुची देखाएका छैनन् ।’

हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार कैलालीमा ६९ किलोमिटरको धनगढी मोहना पुल–फुलवारी–हसुरिया–भजनी–सत्ती–कर्णाली खण्डमा लगाइएको सातवटा ठेक्का मध्ये चारवटा ठेक्काको काम सम्पन्न भएको छ ।

सत्ती–भजनी, धनगढी क्याम्पस चोक–मोहना पुल, क्याम्पस चोक–फूलवारी खण्ड कालोपत्रे भएको छ । यसैगरी, कैलालीमै २९.७१ किलोमिटरको लम्की–टीकापुर–खक्रौला सडकको लम्कीदेखि ८ किलोमिटर खण्ड कालोपत्रे भएको छ । 

यसैगरी, हुलाकी राजमार्गअन्तर्गत लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतिका लागि तीनवटा ठेक्का लगाइएकोमा एउटा मात्रै ठेक्का सम्पन्न भएको छ । लम्की–टीकापुर–खक्रौला सडकको तीनमध्ये दुईवटा ठेक्कामा ७० र ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । धनगढी मोहना पुल–फुलबारी–हसुरिया–भजनी–सत्ती–कर्णाली सडकमा बाँकी तीनवटा ठेक्कामा ४२, ३५ र ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । कञ्चनपुरमा लगाइएको तीन वटै ठेक्काको काम बाँकी छ । कञ्चनपुरमा ६२ किलोमिटरको डोके बजार–बेलौरी–दैजी सडक खण्डको पहिलो २० किलोमिटरको ठेक्कामा ९७, दोस्रो २० किलोमिटर खण्डमा ८०, तेस्रो २२ किलोमिटरको खण्डमा ७९ प्रतिशत भौतिक प्रगति भएको छ । 

राजमार्ग निर्माणका लागि चार अर्ब ३२ करोड ६१ लाख आठ हजार ३७० रुपैयाँमा ठेक्का लगाइएकोमा तीन अर्ब १६ करोड ८४ लाख २६ करोड सात सय रुपैयाँ भुक्तानी भएको छ । सडकको ठेक्कामा एक अर्ब १२ करोड आठ लाख १८ हजार आठ सय रुपैयाँ दायित्व रहेको आयोजना कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया