ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रानीजमराको लागत दोब्बरभन्दा बढी, प्रगति ७४ प्रतिशत

मङ्गलबार १६, पुष २०८१ ०६:१४

धनगढी । राष्ट्रिय गौरवको योजना रानी जमरा कुलरिया सिंचाई आयोजनाको लागत दोब्बरभन्दा बढीले बृद्धि भएको छ ।

निर्माणमा भएको ढिलाईको कारणले सुरुमा निर्धारण गरिएको लागत अनुमान दोब्बरले बृद्धि भएको हो । आर्थिक वर्ष २०६८/६९ मा यो सिंचाई आयोजनालाई प्रदेश गौरवको सिंचाई आयोजना घोषणा गर्दा १२ अर्ब ३७ करोड रुपैयाँ लागत निर्धारण गरिएको थियो ।

निर्माण सुरु भएको १३ वर्षसम्म योजना सम्पन्न नहुँदा लागत १५ अर्ब १५ करोड २३ लाख रुपैयाँले बृद्धि भई कुल लागत २७ अर्ब ५२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण थालेका राष्ट्रिय गौरवको सिँचाइ आयोजना निर्माणमा ढिलासुस्ती गरेकै कारण दोब्बरभन्दा बढीले लागत वृद्धि भएको हो । १३ वर्षमा पनि आयोजना सम्पन्न भई सेवा दिन नसकेको सिंचाई आयोजनाको सुरुकाे लागतमा दोब्बरभन्दा बढी लागत थप गरी राष्ट्रिय योजना आयोगले संशोधित अनुमान गरेको छ । 

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक देवराज निरौलाले पर्याप्त बजेट विनियोजन नहुनु, आयोजना व्यवस्थापकको असमयमै हुने परिवर्तन, ठेक्का विवाद, स्थानीय अवरोध र प्रकोप तथा कोभिड महामारी जस्ता कारणले आयोजना निर्माणको समय लम्बिएको कारणले निर्माण सामाग्रीको मुल्य समेत बढ्दा लागत पनि थएिको बताए । उनले यी कुराहरुमा सुधार नगरी तोकिएको समय र लागतमा आयोजना पूरा गर्न कठिन हुने बताए । 

कैलाली जिल्लाको ३८ हजार ३ सय हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा उपलब्ध गराउने लक्ष्यका साथ रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माण थालिएको थियो । सरकारले २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, अझै सम्पन्न भएको छैन । आयोजना कार्यालयले दिएको पछिल्लो प्रगति विवरणअनुसार भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७२ प्रतिशत छ ।

प्रतिक्रिया