ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको भीमदत्तस्थित इको पार्कमा सरसफाइ

शनिबार २०, पुष २०८१ ०२:४९

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको बजारसँगै जोडिएको इको पार्क क्षेत्र बाक्लो बस्ती साथै मोटरगाडीको उच्चतम् प्रयोग हुने स्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटरगाडीको अधिकतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको छ । जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण र सरसफाइका कार्यक्रम भइरहेका छन् ।  

सोही क्रममा शुक्रबार भीमदत्त-१८ मा रहेको इको पार्कमा बृहत सरसफाइ गरिएको छ । भीमदत्त नगरपालिकाको आयोजना तथा वडा नम्बर १८ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), उत्थानशील युवा सञ्जाल, सुदूरपश्चिम विश्वविद्यालय वातावरण विद्यार्थी समाज, नगर प्रहरी साथै स्थानीयको सहकार्यमा इको पार्कमा बृहत सरसफाइ गरिएको हो ।  

वडा नम्बर १८ का अध्यक्ष रवीन्द्र प्रसाद देवकोटाले इको पार्कमा हरियाली प्रवर्द्धनका लागि काम भइरहेको बताए । उनले पार्कमा मानिसहरु मनोरञ्जनका लागि आउने र जथाभावी फोहोर गर्ने गरेको पाइएको बताए । वडा अध्यक्ष देवकोटाले 'क्लीन सिटी ग्रीन सिटी'को अवधारणालाई सफल पार्न सर्वप्रथम नागरिकहरू सचेत हुन आवश्यक रहेको बताए ।  सो वडाका वडा सदस्य तथा राष्ट्रिय उद्यान महासंघका केन्द्रीय सदस्य हेमबहादुर बस्नेतले बजारसँगै जोडिएको इको पार्कले वातावरण सन्तुलन साथै स्वच्छ हावा प्रदान गर्नमा महत्त्वपूर्ण योगदान पुऱ्याउने भएकाले यस्ता कार्यक्रम निरन्तर रूपमा गरिनुपर्ने बताए ।  

कार्यक्रममा एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले जलवायु परिवर्तन अनुकुलनका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । उनले इको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि सबै निकायले देखाएको तदारूकताले 'क्लीन सिटी ग्रीन सिटी'को अवधारणा सफल हुने विश्वास व्यक्त गरे ।  

भीमदत्त नगरपालिकास्तरीय उत्थानशील युवा सञ्जालका संयोजक वीरेन्द्र ओडले सञ्जालले प्राकृतिक विपद जोखिम न्यूनिकरण, जलवायु अनुकुलन साथै सरसफाइ अभियानमा काम गर्दै आएको बताए । उनले 'ग्रीन भीमदत्त क्लीन भीमदत्त' अभियानका लागि सञ्जालले निरन्तर रूपमा काम गर्दै जाने बताए । 

सुदूरपश्चिम विश्वविद्यालय वातावरण विद्यार्थी समाजकी संयोजक सुधा भट्टले प्लास्टिकको अधिकतम् प्रयोगले वातावरण प्रदुषित बन्दै गएको बताइन् । उनले प्लास्टिकले विभिन्न रोगहरूको जोखिम हुने भएकोले यसको प्रयोगलाई न्यूनिकरण गर्नुपर्नेमा जोड दिइन् ।  

सरसफाइ कार्यक्रममा प्रत्येक व्यक्ति, घरपरिवार र समुदायले चाँसो देखाएर फोहोरको उचित व्यवस्थापन गर्नसके मात्र सरसफाइका अभियानले सार्थकता पाउने र 'क्लीन सिटी ग्रीन सिटी'को अवधारणा पनि सफल हुने कुरामा जोड दिइएको थियो । 

प्रतिक्रिया