धनगढी । सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग भएको छ । नौ जिल्लाको ऐतिहासिक र सांस्कृतिक विरासतलाई जोगाउन नाम मानसखण्ड राख्न माग भएको हो ।
संस्कृतिविद् पदमराज जोशी ‘प्रभात’ले अगाडि सारेको उक्त मागमा धेरैले सहमति जनाएका छन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायतले प्रदेशको नाम मानसखण्ड राख्ने मागसहितको सामाजिक सञ्जालको पोस्टलाई सेयर गरेका छन् । ‘सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशसभालाई हाम्रो प्रदेशको नाम मानसखण्ड राख्न आग्रह छ,’ जोशीले भनेका छन् । हिमाली सभ्यताका विभिन्न खण्डमध्ये रेवाखण्ड र मानसखण्ड मुख्य खण्डको रुपमा विद्यमान रहेको उनी बताउँछन् ।
‘यी थुप्रै खण्डहरुमा पनि मानसखण्डलाई सभ्यताका दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ,’ जोशीले अगाडि भनेका छन्, ‘जसमा कैलास पर्वत, मानसरोवर, यमनोत्री, गंगोत्री, केदारनाथ, वद्रीनाथ, हरिद्वार, भूस्वर्ग खप्तड लगायतका महत्वपूर्ण सम्पदाहरु विद्यमान छन् । पश्चिमा गडवालको नन्दा पर्वत देखि पूर्वमा कर्णाली सम्मको भूखण्डलाई मानसखण्ड भनिएको छ । यस समग्र भूगोललाई पुराणहरुमा र इतिहासमा खस मण्डल पनि भनिएको छ । यसको पुष्टि केदारनाथमा रहेको केदारे खसमण्डले भन्ने शिलालेखले पनि गरेको छ । हामीसंग यस्तो सांस्कृतिक विरासत बोकेको नाम मानसखण्ड प्रदेश भएर पनि हामी अफैँलाई सुदूरपश्चिम भन्न विवस भएका छौं । त्यसकारण सुदूरपश्चिम प्रदेशको नाम मानसखण्ड प्रदेश राखौं ।’
०७५ असोज १२ गते तत्कालीन प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम राखिएको थियो । नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिका संयोजक तारालामा तामाङले सुदूरपश्चिम नाम राख्ने प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेपछि ३८ जना प्रदेश सांसदले पक्षमा मतदान गरेका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टी नेपालका २ सांसदले मतदान प्रक्रियामा सहभागिता जनाएनन् ।
प्रतिक्रिया