ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा म्याद सकिएका ७० ठेक्का, आवश्यक बजेट विनियोजन नगर्दा आयोजना अलपत्र

मङ्गलबार २६, फागुन २०८२ ०३:३३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगर्दा ठेकेदारले काम नगरेकोले प्रदेशमा ७० योजना म्याद सकिसकेको वर्षौंसम्म सम्पन्न भएको छैन ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयहरुले २०७६ देखि बहुवर्षीय ठेक्का लगाएका १६ वटा पुल र ५४ वटा सडकका योजनाहरु सम्पन्न नभएका हुन् । ११ अर्ब ७५ करोड ३० लाख ३३ हजार रुपैयाँ लगाइएका यि ठेक्कामा नौ अर्ब ९६ करोड नौ लाख दुई हजार रुपैयाँ खर्च भइसकेको छ ।

चालुआर्थिक वर्षमा यि ठेक्काहरुको लागि ६२ करोड २५ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यि ठेक्का सम्पन्न गर्न यसवर्ष वर्ष एक अर्ब १६ करोड ९६ लाख ६३ हजार रुपैयाँ अपुग छ । ठेकदारहरुलाई काम गर्नका लागि तोकेता भइरहेको बताउँदै मन्त्रालयका प्रवक्ता सिनियर डिविजनल ईञ्जिनियर सुविक श्रेष्ठले ठेकदारहरुले काम गरे चालुवर्षमै रकमान्तर मार्फत् थप बजेट व्यवस्था गर्न सकिने बताए ।

१६ अर्ब २० करोड ३० लाख २७ हजार रुपैयाँ लागत अनुमान रहेका यि योजनाहरुलाई चार अर्ब ४४ करोड ९९ लाख ९४ हजार रुपैयाँ घटीमा ठेक्का लगाइएको थियो । ठेक्का लिन घटीमा टेण्डर भर्ने र काम गर्न कठीन भएपछि भाग्ने ठेकेदारहरुको प्रवृत्तिले प्रदेशमा म्याद सकिएका बहुवर्षीय ठेक्काहरुको संख्या बढ्दै गएको छ । तर प्रवक्ता श्रेष्ठले सिर्जित अनिवार्य दायित्व घटाउन मन्त्रालयले म्याद सकिएका योजनाहरु छिटो सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित गरेको बताए ।

पुराना बहुवर्षीय ठेक्काहरु सम्पन्न नहुँदा प्रदेश सरकारले पुरानै योजनामा पटक पटक बजेट गरिरहनुपर्ने तर बजेट खर्च नहुने समस्या बढेको छ । यसले गर्दा प्रदेशको योजनाबद्ध विकासमा बाधा परेको सरोकारवालाहरुले बताएका छन् । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रा.डा. राजेन्द्रविर चन्दले एकातिर पूर्वाधार विकास सुस्त हुनुका साथै आर्थिक विकास र राजश्व उत्पादनमा समेत बाधा सिर्जना भएको बताए । उनले प्रदेश सरकारले पुराना ठेक्काहरु समयमै सम्पन्न गरी नयाँ योजना सञ्चालनको ढोका लोल्नुपर्ने बताए ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ चौमाला चौराहा र वडा नं. २ पुरानो बजार जोड्ने पुल निर्माणका लागि २०७७ असार ३१ गते ठेक्का लिएको वाईपी निर्माण सेवाले ढिलासुस्ती गरेकाको कारण छ वर्षदेखि उक्त पुल अलपत्र छ ।  तीन वर्ष सम्पन्न गर्ने गरी वाईपीले सात करोड २३ लाख ८० हजार ८४२ ठेक्का सम्झौता गरेको थियो । हालसम्म उक्तपुलको दुबैतिरको स्पान निर्माण गरिएपनि स्ल्याब हाल्न बाँकी छ । १ नम्बर वडाका बासिन्दाले २ नम्बरका स्कूल र स्वास्थ्य चौकी जानुपर्छ भने दुई नम्बरका बासिन्दाले १ नम्बरमा भएको गौरीगंगा नगरपालिकाको कार्यालय, क्याम्पस, बजार जानुपर्छ । पुल नबन्दा दुबैतिरका नगरबासीले सास्ती बेहोर्नु परेको गौरीगंगा वडा नं. २ का वडाध्यक्ष जनकबहादुर साउँदले बताए । उनले पुल नबनेकाले बर्खाको बेला करिब ३ किलोमिटर हाइवेबाट हिडेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको बताए ।

पूर्वाधार विकास कार्यालय अछामले बाजुराको २६ किलोमिटरको मार्तडी–कोल्टी–पिलिचौर सडक स्तरोन्नतीका लागि २०७७ असारमै बहुवर्षीय ठेक्का लगाएको थियो । उक्त सडकलाई विभिन्न तीन खण्डमा ठेक्का लगाइएकोमा हालसम्म पनि कालोपत्रे हुन नसक्दा वर्खामा आउने बाढी पहिरोले गर्दा सडक ठाउँ ठाउँमा बगाउँदा वर्षको चार महिना सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा हिउँदा पाक्ने बाजुराको पूर्वी क्षेत्रको स्याउले मूल्य नपाई बारीमै कुहिने गरेको छ । स्यामीकार्तिक गाउँपालिकाका स्याउ किसान प्रेम कट्टेलले कर्णाली प्रदेश भएर धनगढी ल्याई स्याउ बेच्नुपर्ने बाध्यता रहेको बताए । उनले उक्त सडकमा ठेक्का लगाइएको दुई वटा पुल समेत निर्माण नहुँदा २६ किलोमिटर सडक दिनभरि लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए । उनले सडक अवरुद्ध हुँदा त्यहाँका बासिन्दाले स्वास्थ्य सेवा लिन सकेत कठीन भएको बताए ।

प्रतिक्रिया