ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हाम्रो आगमन र संकल्प

प्रकाशकीय

सोमबार ०३, मङि्सर २०८१ ०१:४९

अग्रलेख मल्टिमिडिया कम्पनी प्रा.लि. द्वारा सञ्चालित अग्रलेखक डटकम अनलाइन न्यूज पोर्टल र अग्रलेख लाइभ अनलाइन टेलिभिजन औपचारिक रुपमा सुरु भएको घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौं ।

सूचना प्रविधिमा भएको द्रूत विकासले पाठक, दर्शक र स्रोताका रुचि फेरिएसँगै आमसञ्चारका माध्यमको प्रस्तुतिमा पनि परिवर्तन आजको आवश्यकता हो भन्ने यथार्थलाई आत्मसात गर्दै मुलुक र नागरिकको पक्षमा समय सापेक्ष र विश्वसनीय पत्रकारिता गर्ने दृढ संकल्पका साथ अग्रलेख डटकमअग्रलेख लाइभ अनलाइन टेलिभिजनमार्फत हामीले सामूहिक पाइला अघि बढाएका हौं ।

अग्रलेखलाई नेपाली सञ्चार माध्यममाझ एउटा पृथक पहिचानसहितको सञ्चारमाध्यमका रुपमा स्थापित गर्दै जनजनका आवाज र सवालहरु समेट्ने मिडिया प्लेटफर्मका रुपमा स्थापित गर्ने चुनौतिपूर्ण यात्रामा हामी अघि बढेका छौं । यसका लागि हामी सबै प्रकारका अनुचित प्रभावबाट मुक्त रहदै, सुशासन, न्याय र विकासका पक्षमा दृढताका साथ उभिने हाम्रो संकल्प छ ।

यस सन्दर्भमा, स्थापित मूल्यमान्यता र पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहँदै मुलुक र नागरिकको पक्षमा उभिएर सार्वजनिक सरोकारका सवालहरु उठान गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । मुलुकको शासन सञ्चालन र शक्तिशाली ओहोदामा रहेकाहरूबाट हुने आर्थिक अनियमितता र शक्तिको दुरूपयोगविरूद्ध पहरेदारी गर्नु हाम्रो प्रधान कर्तव्य हुनेमा हामी सु–स्पष्ट छौं ।

हामी मुलुक र नागरिकको बृहत्तर हितलाई केन्द्रमा राख्दै अग्रलेखलाई आमपाठक र दर्शकहरुमाझ विश्वसनीय सञ्चार माध्यमका रुपमा स्थापित गर्न हरक्षण प्रयत्नरत रहने छौं । वर्तमानको अविकास र पछौटेपनबाट छुट्कारा प्राप्तिका लागि हामी मिडिया साझेदारी र सहकार्य गर्नेछौं ।

अग्रलेखलाई तथ्यको जगमा टेकेर विकास, सुशासन, न्याय तथा पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने लोकतान्त्रिक बहसको व्यवस्थित मञ्च बनाउने हाम्रो ध्येय छ । यस कार्यका लागि हामीलाई यहाँहरुको विश्वास, भरोसा, पृष्ठपोषण, सहकार्य र उत्साहको खाँचो परिरहनेछ ।

प्रतिक्रिया