धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा र्याली निकालेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्याली निकालेको हो ।
र्यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरू, विभिन्न खेलका प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारी सहभागिता रहेको थियो ।
यसैगरी, टोलीका मुख्य प्रशिक्षक जगत टमटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत समर्थक तथा शुभेच्छुक र्यालीमा सहभागी थिए । र्यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकी पनि देखाइएको थियो ।
रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।
सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । क्यानको आयोजनामा आठ टोली सहभागी रहने एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।
प्रतिक्रिया