एजेन्सी । अमेरिकाको लस एन्जलसमा जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै गएपछि आपत्काल घोषणा गरिएको छ । २० एकड क्षेत्रफलमा डढेलोबाट सुरु भएको आगो आज बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
आगो निभाउने काम युद्धस्तरमा भइरहेको पनि धेरै समय लाग्न सक्ने बताइएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले प्रभावित क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिएको बताएका बीबीसीले जनाएको छ ।
वनको आगलागीबाट नजिकैको बस्तीमा १३ हजार भवन जोखिममा छन् । मानिसहरू आफ्नो घर छोडेर भागेका छन् । अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ । यो हावाको बहाव अत्यन्त तीव्र भएका कारण धुवाँको मुस्लो शहर र बस्तीमा प्रवेश गरेको छ ।
जङ्गल नजिकको बाटोमा राखिएका गाडीमा समेत आगो सल्किएको छ । लस एन्जलसका धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा सारेका बीबीसीले जनाएको छ । डढेलो अझै फैलन सक्ने भन्दै क्यालिफोर्नियामा लाखौं मानिसलाई चेतावनी जारी गरेर सावधान रहन अनुरोध गरिएको छ ।
तस्बिर : रोयटर्स
प्रतिक्रिया