धनगढी । १६ असोजको राति अछामको ढकारी गाउँपालिका ६ की २९ वर्षीया सरितादेवी जैशीलाई सुत्केरी ब्यथा लाग्यो । मध्यराति परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लैजादै थिए । सोही क्रममा उनले बाटोमा नै बच्चालाई जन्म दिइन् । बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो ।
त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुगाइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनियो । सुत्केरी भएको करिब सात घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा १७ असोजमा उनको बाटोमै मृत्यु भयो । अहिले उनको नवजात शिशुसहित चार छोराछोरीको बिचल्ली छ ।
१४ असोजमा बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनीषा घटालले मृत शिशुलाई जन्म दिइन् । घरमै सुत्केरी भएकी घटाललाई अत्यधिक रक्तश्राव हुन लाग्यो । वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा सुत्केरीलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउन सकिएको थिएन । गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर बन्द थियो । घटालको १५ असोजमा उपचार नपाएरै मृत्यु भयो ।
बझाङको केदास्युँ गाउँपालिका–१, डुडिलकी ३१ वर्षीया खिना (सविता) बोहरालाई चिकित्सकले सुत्केरी हुनका लागि २४ माघको मिति दिएका थिए । त्यो समय आउन एक महिना तीन दिन बाँकी थियो । खिना आइतबारदेखि नै परिवारका सदस्यलाई कम्मर दुख्यो भन्दै थिइन् । आइतबार रातिदेखि व्यथा लागेपछि सोमबार बिहान ३ बजे घरमा रहेका सासू–ससुरा, नन्द, फूपू र गाउँकै महिलाहरूले स्वास्थ्य चौकी लैजान हिँडाए । झण्डै ६ किलोमिटर टाढा थियो, रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा ।
बिहान ५ बजे खिनाले पहिलो बच्चालाई बाटोमै जन्म दिइन् । नजिकै थियो वडा सदस्य पदमप्रसाद भट्टको घर । वडा सदस्य भट्टका अनुसार जयपृथ्वी राजमार्ग पुग्न १५ मिनटको दूरीमा खिनाले शिशुलाई जन्म दिएकी थिइन् । ‘बाटोमै शिशु जन्मिएपछि मैले रायल प्राथमिक स्वास्थ्य चौकीका अहेब कमलकुमार मल्ललाई जानकारी गराएको थिएँ,’ वडा सदस्य भट्टले भने । मल्लका अनुसार वडा सदस्यले जानकारी दिएपछि उनी एम्बुलेन्स र नर्सिङ कर्मचारीसहित त्यहाँ पुगेका थिए । ‘हामीले त्यहाँ पुगेर शिशु र आमालाई चेकजाँच गरेका थियौँ,’ मल्लले भने, ‘शिशुको पहिले नै र आमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भइसकेको थियो ।’
सरिता, मनीषा र खिना जस्ता सुदूरपश्चिमका धेरै आमाले प्रजनन् स्वास्थ्यको अवस्था ठिक नहुँदा ज्यान गुमाएका छन् । कतिपयको घरमै, कतिले बाटोमा त कतिको स्वास्थ्य संस्थामा मृत्यु भएको छ । प्रजनन् स्वास्थ्यको अवस्था कति हदसम्म दयनीय छ भने सुदूरपश्चिमका कतिपय महिलाले स्वास्थ्य चौकी टाढा हुँदा बाटोमै बच्चा जन्माउनु बाध्यता छ । नियमित गर्भ परीक्षण नगर्नु, स्वास्थ्य संस्थामा प्रसूति गराउने आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनुले पनि आमाहरू मृत्युको मुखमा धकेलिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका अनुसार पछिल्लो केही वर्षदेखि सुदूरपश्चिममा मातृ मृत्युको संख्या बढेको छ । निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमका अनुसार सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/०७९ मा ८, ०७९/०८० मा २१ र ०८०/०८१ मा २३ आमाले ज्यान गुमाएका छन् ।
‘शत प्रतिशत संस्थागत हुनुपर्ने हो,’ उनले भने, ‘तर, प्रदेशको राजधानी धनगढीमा समेत अहिले पनि घरमै सुत्केरी भएका उदाहरण छन् । संस्थागत सुत्केरीको प्रतिशत मुस्किलले ८० पुगेको छ ।’ डा. बमका अनुसार सुदूरपश्चिममा सचेतनाको अभाव र यातायातको समस्याले समयमै स्वास्थ्य संस्था पुगाउन नसक्दा पनि सुत्केरी र गर्भवतीले ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया