धनगढी । विशेष अदालतले टीकापुर जग्गा अनियमितता मुद्दामा ८७ जनालाई दोषी ठहर गरेको छ । पदाधिकारी र कर्मचारीसमेत ११ जना तथा जग्गा खरिद गर्ने ७६ जना गरी ८७ जनालाई दोषी ठहर गरिएको हो । व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने फैसला भएको छ ।
विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललगायत सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द र मालपोत अधिकृत जयबहादुर विष्टलाई दोषी ठरह गरेको हो । कसुरको मुख्य जिम्मेवारीमा रहेको भन्दै अदालतले जोशी र रावलाई डेढ वर्ष कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकेको छ । जोशीलाई थप तीन महिना कैद हुने फैसलामा उल्लेख छ । अन्य पदाधिकारी र कर्मचारीलाई भने तीन महिना कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकिएको छ । दोषी ठहर भएका अन्य जग्गाधनीलाई भने तीन महिना कैद र बिगोअनुसारको जरिवाना तोकिएको छ ।
टीकापुर नगर विकास समितिका पदाधिकारीहरू कर्मचारीहरू र जग्गाधनी गरी २४९ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा १६२ जनाले भने सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २६ गते ६ बिघा १९ कठ्ठा १० धुर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादीहरूविरुद्ध दुई करोड ५० लाख रूपैयाँ बिगो कायम गर्दै कैद जरिवाना तथा व्यक्तिका नाममा लगिएको जग्गा जफतको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया