ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकारविरुद्व खुल्न थाले काँग्रेस नेता, गठबन्धनमा संकट त होइन ?

शुक्रबार २६, पुष २०८१ ०५:४९

धनगढी । सत्ता साझेदार नेपाली काँग्रेसका नेताहरु वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्व खुलेरै बोल्न थालेका छन् । प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएपछि काँग्रेसका नेताहरु त्यसको विरुद्धमा उभिएका हुन् । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ,’ प्रधानमन्त्री ओलीले मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा भनेका थिए ।

विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले २०८७ सालमा मात्रै संविधान संशोधन हुने ओलीको अभिव्यक्तिप्रति विमति राखेका छन् । ‘संविधान संशोधनको ढोका खोल्ने सात बुँदे समझदारीमा लेखिएको छ,’ झापाको कचनकवलमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ । यदि उहाँले एमालेको बैठक हुँदै गर्दा संविधान संशोधन २०८७ मा हुन्छ भनेर भन्नुभएको हो भने त्यसमा म उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु ।’

एनपी साउद

कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत रहेको बताएका छन् । बर्दियामा आयोजित कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको छ । ओलीको अभिव्यक्ति सरकार गठनका लागि भएको सहमतिविपरीत छ ।’ 

मीनेन्द्र रिजाल

कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पनि कांग्रेस–एमाले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् । ‘प्रधानमन्त्री ओलीले नै २०८७ मा संविधान संशोधन हुन्छ भन्नुभयो । यो भनेको गठबन्धनको औचित्य समाप्त भयो भन्ने हो,’ उनले भनेका छन् । 

गोविन्द पोखरेल

काँग्रेस नेता गोविन्द पोखरेल पनि सरकारको विरोधमा देखिएका छने । ‘गठवन्धन गरिएको सात बन्धनमध्ये चारवटा चुडिएका छन्,’ पोखरेलले भनेका छन्, ‘संविधान संशोधन, सुशासन कायम, अर्थतन्त्र उकास्ने, वैदेशिक सम्बन्ध सुधार्ने, खै गल्र्याम्मै भएपछि बल्ल थाहा हुने हो कि ?’

अर्जुननरसिंह केसी

कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिपछि सत्ता गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् । ‘२०८७ नभई संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार बन्दा भएको सात बुँदे सहमतिमाथि अपमान भएको छ,’ बिहीबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ ।’

प्रतिक्रिया