महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका नगर सभाको १६औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख पदम बोगटीको अध्यक्षतामा शनिबार अधिवेशन सम्पन्न भएको हो ।
नगर प्रवक्ता पदमराज अवस्थीले सभामा विषयगत समितिका प्रगति प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/०८२ का लागि भीमदत्त नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा केही हेरफेर, रकमान्तर एवम् शिर्षक परिवर्तन भएको बताए ।
यस्तै, नगर कार्यपालिका बैठकका निर्णय अनुमोदन, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण, संस्थागत क्षमता स्वमूल्यांकन लगायतका विविध विषयमा समेत छलफल भएको नगर प्रवक्ता अवस्थीले बताए । सभामा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख निलम लेखक जोशीको अनुमतिमा न्यायिक समिति सदस्य एवम् नगर सभा सदस्य नरबहादुर साउँदले प्रस्तुत गरेका थिए ।
आर्थिक विकास समिति, लेखा समिति, विधेयक समिति, सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति र पूर्वाधार विकास समितिको प्रतिवेदन समिति संयोजक क्रमशः गगन सिंह धामी, हरिहर दमाई, भुपेन्द्र सिंह रावल, प्रताप साउँद, सुशील कुमार भट्ट, प्रकाश थापा र पदमराज अवस्थीले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया