ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रानाथारु संगहालयका लागि भवन बनाइए, संग्रहालय बनाइएन

बुधबार ०२, माघ २०८१ ०७:१६

धनगढी । सरकारले कैलाली–कञ्चनपुरमा लाखौँ रुपैयाँ खर्च गरेर भवन बनाए पनि रानाथारु संग्रहालय सञ्चालनमा बेवास्ता गरेको छ । कैलाली र कञ्चनपुरमा रानाथारु संग्रहालय स्थापनाका लागि करिब साढे १३ करोड रुपैयाँको लगानीमा भवनहरु निर्माण गरिएका छन् । तर संग्रहालय सञ्चालनमा आउन सकेका छैनन् । 

आदिवासी रानाथारु समुदायको संस्कृति संरक्षण गर्ने र उनीहरुको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले रानाथारु बस्तीमै संग्रहालय सञ्चालन गर्न भवन निर्माण गरिएका हुन् । कञ्चनपुरको पुनर्वासमा रानाथारु संग्रहालयका लागि करिब तीन वर्षअघिनै भवन निर्माण गरिएको छ । प्रयोगविहीन भएपछि साढे छ करोड रुपैयाँको लागतको उक्त भवन जीर्ण हुने अवस्थामा पुगेको छ । 

भवन निर्माण गरे पनि संग्रहालय सञ्चालनमा सरकारले चाँसो नदिएको स्थानीय रानाथारु समुदायले गुनासो गरेका छन् । 

सरकारले संग्रहालयका नाममा भवन निर्माण गरेर अलपत्र छोडेको पुनर्वासको रानाथारु संग्रहालय संरक्षण समितिका अध्यक्ष बिश्राम रानाले बताए । 

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई रानाथारु संग्रहालय सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे । ‘भवन बनाउने र वालमा केही पेन्टिङ गर्नेबाहेक अरु काम भएको छैन,’ रानाले भने, ‘रानाथारु समुदायको कला, संस्कृति, रहनसहन झल्कने सामानहरु छैनन ।’ 

पुनर्वासमा निर्मित संग्रहालय भवन परिसर झाडीले छोपेको छ । जडान गरिएका सोलार बत्ती पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । समयमै संग्राहलय सञ्चालनमा नआए राज्यको करोडौँ लगानी खेर जाने अवस्थामा रहेको स्थानीय बताउँछन् ।

पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया रानाले संग्रहालय सञ्चालनमा ल्याउनका लागि बजेटको अभाव रहेको बताइन् । संग्रहालय सञ्चालनमा ल्याउन करिब एक करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । ‘त्यतिधेरै बजेट पालिकाले विनियोजन गर्नसक्ने अवस्था छैन’ उनले भनिन्, ‘प्रदेश सरकारलाई आग्रह गरेका थियौँ तर यस वर्ष पाँच लाखमात्र विनियोजन गरेको छ ।’

नगरपालिकाले संग्रहालय सञ्चालनको कार्यविधिसमेत बनाउन सकेको छैन । ‘पालिकाको थोरै बजेटले केही वाल पेन्टिङ गरिएको छ’ उपप्रमुख रानाले भनिन्, ‘कार्यविधि बनाउन खोज्दा संग्रहालय संरक्षण समितिले पनि सञ्चालनमा चाँसो दिएको छैन ।’ संग्रहालय निर्माण गरिएको ठाउँ आसपास रानाथारु समुदायको बसोबार रहेका बस्तीहरु छन् । संग्रहालय सञ्चालन भए पर्यटक आउने भएकाले स्थानीयको आयआर्जनमा पनि टेवा पुग्ने रानाले बताए । संग्रहालय निर्माणका लागि स्थानीयले नै साढे तीन विघा जग्गा उपलब्ध गराएका थिए ।

धनगढी उपमहानगरपालिकाको राजपुरमा पनि रानाथारु संग्रहालयका लागि करिब सात करोड रुपैयाँको लगानीमा भवनलगायत संरचना निर्माण गरिएका छन् । गत वर्ष चैतमा उपमहानगरलाई ती संरचना हस्तान्तरण गरिएका थिए । धनगढी उपमहानगरले भने चालु आर्थिक वर्षभित्रै संग्रहालय सञ्चालनको प्रकृया अगाडि बढाउने तयारी गरेको छ । उपमहानगरका डिभिजनल इन्जिनियर दिजराज भट्टले संग्रहालय सञ्चालनमा लागि यस वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । ‘सञ्चालनको कार्यविधि बनाएर यसै वर्ष सुरु गर्ने भनेका छौँ’ उनले भने । भवन निर्माणमा उपमहानगरको समेत लागत साझेदारी रहेको भट्टले जानकारी दिए ।

राजपुरका स्थानीय सबु रानाले संग्रहालय सञ्चालनमा आए आफूहरुको आयआर्जनमा पनि टेवा पुग्ने बताए । संग्रहालय चाँडो सञ्चालनमा ल्याउन उपमहानगरलाई आग्रह गरिएको उनले बताए । ‘संग्रहालय सुरु भए हाम्रो कला, संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार हुन्छ’ राना कला, सांस्कृतिक मञ्चका उपाध्यक्षसमेत रहेका रानाले भने, ‘पर्यटक आउँदा यहाँ चहलपहल हुन्छ, व्यापार व्यवसाय बढ्छ, स्थानीय उत्पादन बिक्री हुन्छ ।’

प्रतिक्रिया