धनगढी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश सुपर चारमा पुगेका छन् । एपीएफ क्लव अपराजित रहदै सुपर चारमा पुगेको हो भने सुदूरपश्चिम समूह चरणको एक खेलमा पराजित भएको छ ।
शनिबार कैलालीको फाप्ला मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको हो । एपीएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरको खेलमा छ विकेट गुमाएर ६७ रन मात्र बनायो ।
सुदूरपश्चिमका लागि कबिता कुँवरले सबैभन्दा धेरै २९ रन बनाइन् । एपीएफकी इन्दु बर्मा र कबिता जोशीले समान दुई/दुई विकेट लिए । यस्तै सबनम राईले एक विकेट लिइन् ।
त्यसअघि खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपीएफले २ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले ५८, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाए ।
सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिइन । समूह चरणका चार खेलमा एपीएफ तीन खेलमा विजयी भएको थियो भने एक खेल नहुँदा अंक बाडेको थियो । तीन खेलमा जित निकालेको सुदूरपश्चिम भने एक खेलमा पराजित भएको हो ।
प्रतिक्रिया