ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पीएम कप : बाहिरिए लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश

शनिबार ०५, माघ २०८१ ०५:२३

धनगढी । कैलालीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश बाहिरिएका छन् । समूह ए मा रहेका तीन वटै टोली प्रतियोगिताबाट बाहिरिएका हुन् ।

समूह चरणमा गण्डकी र कर्णाली प्रदेशले एउटा खेल पनि जित्न सकेनन् भने लुम्बिनी प्रदेश दुई खेलमा विजयी भएको थियो । तीन वटै टोलीको एक–एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । समूह चरणमा लुम्बिनीले ५ तथा कर्णाली र गण्डकीले १/१ अंक जोडेका छन् । उक्त समूहबाट एपीएफ ७ अंकसहित समूह बिजेता भएर सुपर चारमा पुग्दा सुदूरपश्चिम ६ अंकसहित समूह उपविजेता बनेर सुपर चारमा पुगेको छ ।

यस्तै ‘ए’ समूहअन्तर्गत भएको समूहचरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशले कर्णालीलाई ७१ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा १२७ रनको विजयी लक्ष्य पाएको कर्णाली ५५ रनमा समेटियो । उसका लागि रमा बुढाथोकीले २० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका सरस्वती पुनले ४ विकेट लिइन् । मनिषा राना, आस्ना चौधरी र मधु डिसीले १/१ विकेट लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनायो । उसका लागि रञ्जु श्रेष्ठले ५१ रनको अविजित पारी खेलिन् । कर्णालीले ३९ रन अतिरिक्त दिएको थियो । कर्णालीका अञ्जु गुरुङले ३ र रमा बुढाथोकीले २ विकेट लिइन् । प्रतियोगिताअन्तर्गत आइतबारदेखि भने समूह ‘बी’ का खेल हुनेछन् । 
 

प्रतिक्रिया