धनगढी । अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारीले सयुक्त रुपमा राजीनामा दिएका छन् । बुधवार संघका १० जना पदाधिकारी र सदस्यले पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएका हुन् ।
संघका उद्योग उपाध्यक्ष दलबहादुर खड्का, वाणिज्य उपाध्यक्ष फागुराम चौधरी, बस्तुगत उपाध्यक्ष चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेमराज भण्डारी लगायतका पदाधिकारीले राजीनामा दिएका हुन् ।
अध्यक्ष कल्याणसिंह बोहराले महोत्सवमा नक्कली टिकट ठेली बराबरको बिगो रकम तिरेर माफी मागेपछि आफूहरूले माफी दिएको संघका उद्योग उपाध्यक्ष खड्काले बताए । ‘अध्यक्षको नेतृत्वदायी भूमिका राम्रो देखिएन । हामीले नयाँ कार्यसमितिको निर्वाचनको माग गर्दै राजीनामा दिएका हौ,’ उनले भने ।
महासचिव शंकर खड्काले अध्यक्षलाई आम माफी दिए पनि उनै अध्यक्षको नेतृत्वमा बस्न नैतिकताले नमिलेर राजीनामा दिएको बताए । नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाउन राजीनामा दिएको उनले बताए ।
राजीनामा पत्रमा नक्कली टिकट ठेलीमा भएको हानी नोक्सानी बापतको क्षतिपूर्ति रकम एक लाख २८ हजार अध्यक्ष कल्याणसिंह बोहराले संस्थाको खातामा दाखिला गरी माफी मागेको उल्लेख छ ।
प्रतिक्रिया