ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरमा तात्यो राजधानीको सवाल, पूर्व र वर्तमान मुख्यमन्त्रीबीच छलफल

मङ्गलबार ०८, माघ २०८१ १२:१३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख र पूर्वमुख्यमन्त्रीबीच स्थायी राजधानी स्थापना लगायतका विषयमा छलफल भएकाे छ । प्रदेश सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन आवश्यक परामर्शसहित साझा समझदारी बनाउने र राजधानीकाे विषय पनि टुंगाे लगाउनेबारे मुख्यमन्त्री शाहले मंगलबार विहान आफ्नै निवासमा छलफल गरेका हुन् । 

छलफलमा संस्थापक मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट, एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी र सभामुख भीमबहादुर भण्डारी सहभागी भएका छन् । प्रदेशका सवाललाई लिएर यसरी पूर्वमुख्यमन्त्रीहरु एकसाथ छलफल बैठकमा जुटेको सम्भवतः यो पहिलो पटक हो । 

प्रदेशका समग्र विषयमा छलफल भएकाे बताइएकाे छ । राजधानीको निक्र्योल, बजेट कार्यान्वयन, प्रदेशसभाको प्रभावकारी सञ्चालनलगायतका सवालमा छलफल भएको उनीहरुले बताएका छन् ।

सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरीमा घोषणा भएको छ वर्षभन्दा बढी पुगेको छ । तर, प्रदेश सरकारले वन क्षेत्रको उक्त जग्गासमेत प्राप्त गर्न सकेको छैन । 
सोमबार प्रदेशसभा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भण्डारी लगायतका वक्ताले राजधानीको विषय टुंगोमा पुगाउनुपर्ने बताएका थिए । मुख्यमन्त्री शाह पनि गोदावरीमा सम्भव नभए स्थायी राजधानीका लागि विकल्प खोज्ने बताउँदै आएका छन् । 
 

प्रतिक्रिया