ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एक महिना अगावै गत वर्षभन्दा धेरै धान खरिद

बिहिबार ०६, मङि्सर २०८१ ११:३३

टीकापुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म टीकापुर केन्द्रमार्फत १७ हजार दुई सय ५४ क्विन्टल धान खरिद गरेको छ । उसले केन्द्रअन्र्तगत टीकापुर, सत्ती, भजनी र जोशीपुरमा धान खरिद गरिरहेको छ । 

कम्पनीले टीकापुर र सत्तीमा कात्तिक ११ गतेबाट धान खरिद सुरु गरेको थियो भने भजनी र जोशीपुरमा केही समयपछि मात्रै सुरु गरिएको थियो । 

गतवर्ष टीकापुर, सत्ती र भजनी केन्द्रबाट कम्पनीले १६ हजार क्विन्टल धान खरिद गरेको थियो । यो वर्ष एक महिना नपुग्दै कम्पनीले गतवर्षको भन्दा धेरै धान खरिद गरिसकेको छ । 

लिमिटेडका वरिष्ठ सहायक पुष्पराज बजगाँईले सबैभन्दा धेरै सत्तीमा धान खरिद गरेको जानकारी दिए । उनले सत्तीमा सात हजार दुई सय ५८ क्विन्टल धान खरिद गरेको बताए । उनका अनुसार कम्पनीले टीकापुरमा छ हजार पाँच सय ७४, जोशीपुरमा एक हजार आठ सय २४ र भजनीमा एक हजार पाँच सय ९८ क्विन्टल खरिद गरेको छ ।

उनले जोशीपुर र भजनीमा धानको गुणस्तर नभएकाले धेरै धान खरिद गर्न नसकेको बताए । ‘त्यहाँको धान हाम्रो मापदण्ड अनुसार छैन,’ उनले भने, ‘त्यसैले कम खरिद भएको हो ।’

सरकारले हरेक वर्ष कम्पनीमार्फत धान खरिद गर्दै आएको छ । धानको मूल्य समेत सरकारले नै निर्धारण गर्ने गरेको छ । सरकारले यो वर्ष धानको समर्थन मूल्य तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । गतवर्ष धानको समर्थन मुल्य ३ हजार १९८ रुपैयाँ थियो । 

यो वर्ष कम्पनीले जिल्लाभर ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । जिल्लाका टीकापुर, सत्ती र भजनी केन्द्रबाट सबैभन्दा धेरै धान खरिद हुन्छ । 

कम्पनीले गतवर्षको भन्दा किसानलाई सुविधासमेत प्रदान गरेको छ । गतवर्ष एक किसानले अधिकत्तम ३० क्विन्टल मात्रै धान बिक्री गर्न पाउनेमा यो वर्ष ५० क्विन्टलसम्म बिक्री गर्न पाईने व्यवस्था गरेको छ । त्यस्तै यसअघि मजदुरको ज्याला किसान र कम्पनीले आधाआधा व्यहोर्नु पर्नेमा यो वर्ष किसानले तिर्न नपर्ने बनाईएको छ ।

किसानले धान बिक्री गर्न आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिससहित परिचय खुल्ने कागजात ल्याउनुपर्ने व्यवस्थालाई भने कम्पनीले निरन्तरता दिएको छ । व्यापारीले सस्तोमा किसानको धान खरिद गरेर महंगोमा कम्पनीलाई बेच्न नपाउनका लागि यस्तो व्यवस्था गरिएको बजगाईले जानकारी दिए । 

व्यापारीको भन्दा बढी मूल्यमा कम्पनीसँग धान बेच्न पाएपछि किसान खुशी देखिएका छन् । टीकापुर नगरपालिका– १ का किसान रामदिन चौधरीले कम्पनीसँग धान बेच्न पाएकोमा खुशी लागेको बताए ।

अर्का किसान जानकी गाउँपालिका गोलौरीका शंकर डगौरा थारुले हरेक वर्ष सरकारले यसरी नै समयमै धान खरिद गर्दा आफूहरुलाई सहज हुने बताए । उनले व्यापारीले किसानको धान सस्तोमा खरिद गर्ने गरेको गुनासो पोखे । 

सरकारको समर्थन मूल्यसहित कम्पनीले धान खरिद गर्न थालेपछि गल्ला व्यापारीले समेत धानको मूल्य बढाएका छन् । उनीहरुले किसानसँग प्रति क्विन्टल दुई हजार सात सयदेखी दुई हजार नौं सय सम्ममा धान खरिद गर्दै आएका थिए । अहिले व्यापारीले समेत प्रति क्विन्टल तीन हजार दुई सय सम्ममा धान खरिद गर्न थालेका छन् ।
 

प्रतिक्रिया