ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘पकेट’ क्षेत्रमै घट्यो धान उत्पादन, कारण खडेरी र बेमौसमी वर्षा

सोमबार २४, कार्तिक २०८२ ०१:२४

धनगढी । अन्न उत्पादनका लागि उर्बर तराइको जिल्ला कैलालीमा यसवर्ष धानको उत्पादन घटेको छ । मौसमलगायत कारणले धानको उत्पादकत्व घट्दा गत वर्षको तुलनामा समग्र उत्पादनमा समेत कमी आएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । 

कृषि ज्ञान केन्द्रले जिल्लाभरिका एक सय ठाउँबाट १० वर्गमिटर र एक वर्गमिटरको नमुना संकलन गरी कति धान फल्यो भनेर विश्लेषण गरेको थियो । नमुना संकलन गरिएका ठाउँको उत्पादकत्वको अवस्था हेर्दा यो बर्खे सिजनमा धानको उत्पादन करिब छ प्रतिशत घटेको देखिएको केन्द्रका कृषि प्रसार अधिकृत मदनराज जोशीले बताए ।

जोशीका अनुसार गतवर्ष बर्खे सिजनमा धानको उत्पादकत्व प्रतिहेक्टर ४.४५ मेट्रिकटन थियो । यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४.५ प्रतिशत रहेको कृषि प्रसार अधिकृत जोशीले जानकारी दिए । यस वर्ष जिल्लाभरि करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा करिब तीन लाख आठ हजार मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रको अनुमान छ ।

रोपाइँ सकिएपछि भएको लामो खडेरी र धान फुल्ने बेला पानी पर्नुले उत्पादनमा कमी आएको कृषि विज्ञहरुले बताएका छन् । ‘समयमै रोपाइँ भयो तर रोपाइ सकिएपछि करिब डेढ महिनासम्म पानी नपर्दा विरुवाले गाजा हाल्न पाएन, धाँस उम्रियो,’ कृषि प्रसार अधिकृत जोशीले भने, ‘धान फुल्ने बेला वर्षा भयो । यसले धानको परागसेचनलाई असर गर्दा उत्पादन प्रभावित भयो ।’

रासासयनिक मलको अभावले पनि उत्पादन घटेको कृषकहरु बताउँछन् । विरुवा हुर्कने र गाजा हाल्ने बेला रासायनिक मल नपाउँदा यस वर्ष धान राम्रो नफलेको गोदावरी नगरपालिका–६, का किसान नवराज भण्डारीले बताए ।  ‘मल र सिँचाइको कमीले यस वर्ष धान उत्पादन घट्यो, भएको उत्पादनको पनि मूल्य पाइएन’ उनले भने ।  सरकारी कम्पनी खाद्य सस्थानले समयमै धान खरिद सुरु नगर्दा यहाँका किसानले सरकारले निर्धारण गरेको भन्दा प्रतिक्विन्टल साढे नौ सय रुपैयाँ कमसम्ममा धान बेचेका थिए । 

देशको मधेस र पूर्वी क्षेत्रमा खडेरीले यसवर्ष समयमै रोपाइँ हुन सकेको थिएन । सुदूरपश्चिममा अन्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कैलाली र कञ्चनपुर तथा यहाँका अन्य जिल्लामा भने समयमै रोपाइँ सकिएको थियो । कैलाली र कञ्चनपुर धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाका गरी नौवटा वडामा धान जोन कार्यक्रम कार्यान्वयनमा छ । धान जोन कार्यक्रम लागू भएका ठाउँमा पनि यस वर्ष धानको उत्पादनमा कमी आएको कृषकहरु बताउँछन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतनै यहाँ गहुँ सुपरजोन, तेलहन जोन कार्यक्रम पनि कार्यान्वयनमा छ ।
 

प्रतिक्रिया