ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा खुलेआम बिक्री हुन्छ विषादीयुक्त तरकारी, परीक्षण हुँदाहुदै पुग्छ बजारमा

बिहिबार ०४, मङि्सर २०८२ ०५:११

धनगढी । कैलालीको अत्तरियामा किसानले बिक्री गर्न ल्याएको खुर्सानीमा विषादी रहेको थाहा हुँदा पनि बजारमा बिक्री भएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई अत्तरियाले बिहीबार विहान तरकारी बिक्री गर्न ल्याएका किसानबाट तीन वटा नमुना लिएर जाँच गरेको थियो । त्यसमध्ये धनगढी–१७ पथरीका शाहदेव चौधरीले बिक्री गर्न ल्याएको खुर्सानीमा उपभोग गर्न अयोग्य विषादी अवशेष भेटिएको थियो । प्रयोगशालाको रिपोर्टअनुसार खुर्सानीमा ७२.३४ प्रतिशत अर्गानोफस्फेट र ३९.९१ प्रतिशत कार्बोमेटको रोकावट भेटिएको थियो ।

तर, नमुना लिइएको खुर्सानी बिक्री गर्न नरोकिएकाले किसान चौधरीबाट अत्तरियाको कालिका ट्रेर्डसले खरिद गरी बजारमा पठाएको छ । ‘विहान कालिका ट्रेसर्डमा बिक्री गर्न आएका किसानबाटै स्याम्पल लिएका थियौ,’ प्रयोगशालाका नायव प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले भने, ‘रिपोर्ट आउँदासम्म त्यो खुर्सानी कालिका ट्रेडर्सले किनेर कता बिक्री गरेको रहेछ पत्ता नै लगाउन सकिएन । यसपटक कहाँ उत्पादन भएको भनेर पत्ता लगाउन सजिलो हुन्छ भनेर किसानकै विवरण लिएका थियौ ।’

उनका अनुसार यसअघि पनि विषादीयु्क्त पत्ता लागे पनि तरकारी बजारमा बिक्री हुने गरेको छ । यसपाली पनि विषादी परीक्षण गरिरहेकै बेला ५० किलो खुर्सानी बजारमा बिक्री भएको प्रयोगशालाले आफ्नो फेसबुक पेजमा सूचना लेखेर जनाएको छ ।

सो सूचनामार्फत् प्रयोगशालाले बिषादी न्यूनीकरण गरी आम उपभोक्ताको स्वास्थ्यमा पर्ने नराम्रो प्रभाव नियन्त्रण गर्नका लागि धनगढी उपमहानगरपालिकाको कृषि शाखालाई कृषि बजार, ल्याब र कृषि ज्ञान केन्द्र समेतको सहभागिता हुने गरी उक्त क्षेत्रमा सचेतना कार्यक्रम आयोजना गर्ने वातावरण मिलाउज अनुरोध गरेको छ ।

तरकारी तथा फलफूलमा विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य, र ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन क्वारेन्टाइनमा राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए उपभोग अयोग्य हुन्छ । उपभोग अयोग्य परीमाणमा विषादी भेटिएका तरकारी तथा फलफूल तुरुन्तै नष्ट गर्नुपर्छ । तर, धनगढी, अत्तरिया लगायतका बजारमा विषादी परीक्षण नगरिएकै तरकारी र फलफूल धमाधम बिक्री भइरहेका छन् ।

कात्तिक २० गते प्रयोगशालाले अत्तरियाको विभिन्न तरकारी तथा फलफूल पसलमा बिक्री भइरहेको तरकारीको १० वटा नमुना संकलन गरी परीक्षण गर्दा तीन वटा काउलीको नमुनामा उपभोग अयोग्य परीणाम भेटिएको थियो । कञ्चनपुरको बालुवाफाँटाबाट ल्याइएको खान अयोग्य काउलीको नमुना किसान गणेश चौधरी, मिलन ट्रेडर्स एण्ड सप्लायर्स र जयश्री डाडाबाग फलफूल तथा तरकारी पसलबाट नमुना लिइएको थियो ।

प्रतिक्रिया