धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो अपमान भएको बताएका छन् । उपमहानगरलाई डुबानबाट जोगाउन नाली निर्माण योजनाको शिलान्यास कार्यक्रममा बोल्दै मेयर हमालले यस्तो बताएका हुन् ।
‘म आज यो कार्यक्रममा अपमानित भए आएको छु,’ उनले भने, ‘त्यहाँ त शिलान्यास हुँदैछ भनेर मलाई धेरै जनताको फोन आएको थियो । मैले आफूलाई थाहा नपाएको बताए । किनभने मलाई कुनै जानकारी थिएन । उहाँहरुले पुस १७ गते एउटा पत्र पठाउनु भएको थियो । धनगढी उपमहानगरपालिका भनेर कार्यालयलाई पत्र पठाउनुभएको थियो । पत्रमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरिएको थियो । त्यो आवश्यक सहजीकरण इन्जिनियर सापहरुले गरे होलान । बाँकी कुरा केही पनि जानकारी छैन । त्यसकारण म आज वडा नम्बर ४ को बासिन्दा भएर आएको हुँ ।’
मयेर हमालले धनगढी उपमहानगरपालिका–२ का वडाध्यक्ष धर्मराज ओझा र ३ का वडा अध्यक्ष राजबहादुर ऐरको अनुरोधमा मात्रै कार्यक्रममा उपस्थित भएको बताए ।
बुधबार मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भीस लेनमा नाली निर्माण योजनाको शिलान्यस गरिएको हो । सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उक्त योजनाको शिलान्यस गरेका हुन् । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा सम्झौता भएको छ ।
प्रतिक्रिया